सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जशंकर साहको परिवारलाई सरकारले राहत स्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै १० लाख रुपैयाँ दिने निर्णय भएको जनाएको छ ।
साथै गृह मन्त्रायले सो घटनाको छानबिनका लागि एक समितिसमेत बनाएको छ । गृहका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी सदस्य रहेको तीन सदस्यीय छानबिन समिति बनाइएको हो । समितिलाई सात दिनभित्र प्रतिवेदन दिन भनिएको छ । साथै गृह मन्त्रालयले छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्नेसमेत प्रतिबद्धता जनाएको छ ।
बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई लिएर राजनीतिक दलबीच भएको विवाद विरोध प्रदर्शनमा परिणत हुँदा शुक्रबार प्रहरीले गोली चलाएको थियो । त्यसमा बरहथवा–६ का ३० वर्षीय जयशङ्कर साहको मृत्यु भएको थियो ।
बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, बहुजन र जनमत पार्टीले प्रदर्शन गर्दा स्थिति तनावपूर्ण बनेको थियो ।
बरहथवा नगरपालिकाको नगर कार्यपालिकाको बैठकले केही समयअघि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवालाई स्तरोन्नति गरी ५० बेडको अस्पतालमा रूपान्तरण गर्न प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।