विराटनगरबाट लामो तथा छोटो दुरीमा २० वटा विद्युतीय सवारीले दिदैंछन् सार्वजनिक यातायातको सेवा

Logo
Red FM बुधबार, माघ ०२, २०८१

विराटनगर। विराटनगरबाट लामो तथा छोटो दुरीमा विद्युतीय सवारी सेवा विस्तार हुँदै गएको छ । तर सेवा विस्तारसँगै चालकहरूले विभिन्न चुनौतीको सामना गर्नुपरेको छ । हाल विराटनगर बसपार्कबाट दैनिक ४५० भन्दा बढी सवारी छुट्ने गरेकोमा विद्युतीय सवारी भने जम्मा २० वटा मात्र रहेका छन् ।

विराटनगर बसपार्कबाट लामो दुरीमा काठमाडौं, बर्दिबास, लहान र सिराहासम्म, छोटो दुरीमा धरान, हिले र भोजपुरसम्म तथा पूर्वमा बेलबारी, दमक, काँकडभिट्टा र इलामसम्म विद्युतीय सवारी सञ्चालनमा छन् । विराटनगरदेखी काठमाडौंका लागि तीन वटा विद्युतीय गाडी कुद्छन्, जसको भाडा १५०० रुपैयाँ रहेको छ । विराटनगर–सिरहा रुटका चालक नरेन्द्र यादवका अनुसार विराटनगरदेखि इटहरीसम्म १००, कोशी ब्यारेज/भारदह २००, भन्टाबारी २५०, लाहान ३५० र सिराहासम्म ४५० रुपैयाँ भाडादर रहेको छ । बस र विद्युतीय गाडीको भाडादर समान छ ।

विराटनगर–काँकडभिट्टा रुटमा यात्रु सेवा सञ्चालन गर्ने चालक अर्जुन राईले भाडादरमा एकरुपता नभएको गुनासो गरे । उनका अनुसार इटहरी–दमक रुटमा कोही १५० र कोही १००–१२० रुपैयाँमा यात्रु ओसार्ने गरेका छन् । १४ सिट क्षमताको गाडीमा भाडादर फरक–फरक हुँदा समस्या भएको उनले बताए । चालकले विराटनगर महानगरपालिकालाई दैनिक १०० र अन्य पालिकाहरूलाई ५० रुपैयाँ कर तिर्नुका साथै यात्रु खोजेर ल्याउनेलाई १५० रुपैयाँ दिनुपर्ने बाध्यता छ ।

प्राविधिक चुनौती पनि उत्तिकै छन् । एकपटक फुल चार्ज गर्दा ६०० रुपैयाँ लाग्छ । स्पोर्ट्स मोडमा विराटनगर(काँकडभिट्टा यात्रामा ६५(७० प्रतिशत र इको मोडमा ५० प्रतिशत ब्याट्री खपत हुन्छ । विराटनगर बसपार्कमा १४२ किलोवाट क्षमताको चार्जिङ स्टेसनमा एकैपटक तीन वटा सवारी चार्ज गर्न सकिन्छ । एक घण्टामा एउटा गाडी चार्ज हुन्छ । प्रायस् स्थानमा चार्जिङ स्टेसन नहुँदा र भएका ठाउँमा पनि धेरै गाडी हुँदा चार्ज गर्न समय लाग्ने गरेको छ । निजी चार्जिङ स्टेसनमा चार्ज गर्दा बढी पैसा लाग्ने चालकहरुको गुनासो छ। चिन्ताको अर्को विषय ब्याट्री ग्यारेन्टी हो । पहिले ५ वर्ष र ५ लाख किलोमिटरको ग्यारेन्टी दिइने गरेकोमा अहिले ३ वर्ष र ३ लाख किलोमिटरमा सीमित गरिएको छ । ११ सिटको गाडीको मूल्य ५७ लाखदेखि र २० सिटको गाडीको मूल्य करिब ८० लाख रहेको छ । गाडीको उच्च मूल्यका कारण लगानी उठाउन गाह्रो परेको चालकहरू बताउँछन् ।

नेपाल विद्युत प्राधिकरणले देशभर सञ्चालनमा ल्याएका चार्जिङ स्टेसनहरू पूर्ण स्वचालित छन् । प्राधिकरणको एनईए एप डाउनलोड गरेर चार्ज गर्ने र शुल्क बुझाउने सुविधा दिइए पनि सबै चालकलाई एप चलाउन नआउने समस्या छ । सरकारले विद्युतीय गाडी खरिदमा कर कम गरे केही राहत पुग्ने चालकहरूको भनाइ छ । विराटनगरको चार्जिङ स्टेसनमा एकसाथ तीन सवारी चार्ज हुने सुविधा छ । प्राधिकरणले पिक समय (साँझ ५ बजदेखि राती ११
बजे) लाई प्रतियूनिट १० रुपिँया ४४ पैसा र अफ पिक समय (राती ११ बजेदेखि बिहान ५ बजेसम्म) ६ रुपिँया ०६ पैसा, बिहान ५ बजदेखि साँझ ५ बजेसम्म ८ रुपिँया २८ पैसा चार्जिङ शुल्क तोकेको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356