संविधान संशोधनको चर्चाले नजिकिँदै मधेशकेन्द्रित दल

Logo
Red FM बुधबार, पुष १७, २०८१

काठमाडौँ — सत्तारूढ कांग्रेस र एमालेले संविधानमा संशोधन गृहकार्य सुरु गरेपछि मधेशकेन्द्रित दलहरू पनि नजिकिन थालेका छन् । दुई ठूला दल संविधान संशोधनमा जुट्दा यसअघिका आन्दोलनबाट प्राप्त राजनीतिक र संवैधानिक उपलब्धि गुम्ने हो कि भन्ने संशयसाथ मधेशकेन्द्रित दलहरूले छलफल गर्न थालेका छन् ।

टुक्रा–टुक्रामा विभाजित मधेशकेन्द्रित दलका नेताहरू धेरैपछि मंगलबार एउटै मञ्चमा देखिए । उनीहरू सबैले संविधान संशोधनका कारण उपलब्धि गुम्न नदिन एकता, सहकार्य वा मोर्चाबन्दी गर्नुपर्ने परिस्थिति आएको बताएका छन् ।

मधेशी एकता समाज संस्थाले आयोजना गरेको कार्यक्रममा नेताहरूले समावेशिताका पक्षधर दलहरू विभाजित र कमजोर भएको मौका ठूला दलले छोप्न खोजेको टिप्पणी गरे । दुई ठूला दलले निर्वाचन प्रणाली संशोधन गरेर समानुपातिक, समावेशी प्रतिनिधित्वको व्यवस्था खोस्न खोजेको पनि उनीहरूले बताए ।

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले २०७२ मा तीन दलका तीन नेता मिलेर नश्लीय संविधान ल्याएको उल्लेख गर्दै अहिले गर्न खोजिएको संशोधन थप नश्लीय ढंगको हुने आशंका व्यक्त गरे । त्यसलाई रोक्नका लागि मधेशी, आदिवासी, जनजातिसहितका शक्तिहरू मिल्नुको विकल्प नरहेको उनको भनाइ छ ।

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले मधेशकेन्द्रित दलहरूबीच लचिलो गठबन्धन गर्नुपर्ने प्रस्ताव राखे । ‘धेरै पटक एकता गरेर देखिसक्यौं, कुनै सफल भएन । अवसरवादी चरित्रले पार्टीहरू विभाजित भए,’ उनले भने, ‘अब एकताको कुरा नगरौं । तर मुखैमा आइसकेको चुनौती सामनाका लागि सहकार्य गरौं ।’ संविधान संशोधन गरेर दुई दलीय व्यवस्थामा लैजाने लोकतन्त्रविरोधी प्रयास भइरहेको उनको टिप्पणी गरे ।

जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादवले मधेशकेन्द्रित दलहरू एक ठाउँमा आउनुपर्ने बाध्यता बन्दै गएको बताए । उनले त्यसका लागि आफ्नो पार्टी तयार रहेको जनाए । लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झाले पनि मधेशी शक्ति एक नभए प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताए । जनमत पार्टीका नेता एवं प्रवक्ता शरदसिंह यादवले संविधान संशोधन मधेशको विपक्षमा हुने देखिएकाले त्यसलाई रोक्न सहकार्य आवश्यक रहेको बताए ।

जनता समाजवादी पार्टीका महासचिव इस्तियाक राईले अब आफू–आफूबीचमा आरोप–प्रत्यारोपको बेला नरहेको उल्लेख गर्दै मुद्दालाई हेरेर दलहरू एक ठाउँमा आउनुपर्नेमा जोड दिए । प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले मधेशको राजनीतिमा त्याग र निष्ठा हराएको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356