काठमाडौँ — करिब २ साता लामो विदेश भ्रमणपछि परराष्ट्रमन्त्री आरजु राणा देउवा स्वदेश फर्किएकी छिन् । युरोपका केही देश र भारतको भ्रमणपछि उनी सोमबार स्वदेश फर्किइएकी हुन् ।
स्वदेश फर्किएपछि सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूको कुराकानीमा युरोपमा महत्त्वपूर्ण भेटघाट तथा वार्ता गरेको र नेदरल्यान्ड्सको हेगमा अवस्थित अन्तर्राष्ट्रिय अदालतमा नेपालका तर्फबाट जलवायु न्याय मागका लागि आधारहरू प्रस्तुत गरेको उनले जानकारी दिइन् ।
राणा गत मंसिर २२ मा युरोपतर्फ लागेकी थिइन् । राणाले आफू र आफ्नो नेतृत्वको प्रतिनिधिमण्डलले गत मंसिर २४ मा सो अदालतमा यस विषयमा कुरा उठाएको बताइन् । त्यसपछि उनले लक्जेम्बर्गका उपप्रधानमन्त्री, विदेश एवं वैदेशिक व्यापारमन्त्री जेभियर बेटेल र बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग छुट्टाछुट्टै भेटवार्ता गरी द्विपक्षीय हित र आपसी चासोका बारेमा कुराकानी गरेको जानकारी दिइन् ।
भ्रमणकै क्रममा युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्रा र कमिसनर फर इन्टरनेशनल पार्टनरसिप जोजेफ सिकेलासँग बेल्जियमको ब्रसेल्समा छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल र युरोपियन युनियनबीचको सम्बन्ध, जलवायु परिवर्तनका कारण नेपालमा परेको असर र नेपालले पाउनुपर्ने जलवायु न्यायका बारेमा कुरा गरेको पनि उनले बताइन् । साथै उनले युरोपेली आकाशमा नेपाली वायु सेवालाई लगाइएको प्रतिबन्ध (सेफ्टी लिस्ट) सम्बन्धी प्रावधान हटाउने विषयमा पहल गर्न पनि आग्रह गरेको बताइन् ।