मुम्बई —न्युजिल्यान्डका ब्याटर ड्यारल मिचेल मान्छन्, उनको टिम ‘एक हूल किवी’ ले बनेको छ । त्यही टिमले विश्व क्रिकेटको सबैभन्दा ठूलो शक्ति भारतमाथि टेस्ट क्रिकेट शृंखलामा ३–० को ऐतिहासिक ‘ह्वाइटवास’ रचेको छ । पाहुना टोलीले आइतबार मात्रै तेस्रो तथा अन्तिम टेस्ट २५ रनले जितेको थियो, त्यो पनि तीन दिनभित्रै ।
नतिजा भारतले आफ्नो घरेलु मैदानमा खालि दोस्रोपल्ट मात्रै टेस्ट क्रिकेट शृंखलामा ‘क्लिन स्विप’ हार बेहोरेको छ । यसले पनि सजिलै अनुमान गर्न सकिन्छ, न्युजिल्यान्डको उपलब्धि आफैंमा कति ठूलो हो । भारतको जनसंख्या रहेको छ, १ अर्ब ४० करोड । यसमध्ये लगभग सबै नै क्रिकेट भनेपछि त्यसमै रमाउने खालका छन् । त्यही क्रिकेट शक्तिलाई त्यस्तो देशले पूर्णतः माथ दिएको छ, जसको जनसंख्या आकारमा २ सय ७० गुणा सानो छ ।
मिचेल भन्छन्, ‘हामी एक हूल किवी हौं । अनि आफ्नो देशको प्रतिनिधित्व गरेर विश्वकै क्रिकेट शक्तिसँग जोरी खोजेका थियौं । हामी सबैलाई के पनि थाहा छ भने क्रिकेटमा भारत कति मात्रै बलियो टिम हो भनेर ।’ त्यसो त इतिहास आफैंमा साक्षी छ, न्युजिल्यान्डले दोहराएर भारतलाई क्रिकेटमा स्तव्ध पार्ने गरेको छ । ‘ब्ल्याक क्याप्स’ ले बेंगलुरुमा भएको पहिलो टेस्ट जितेर भारतीय भूमिमा सन् १९८८ यता पहिलो टेस्ट जित हात पारेको थियो । त्यसपछि दोस्रो टेस्ट जितेर न्युजिल्यान्डले भारतमाथि भारतमै पहिलो टेस्ट सिरिज जितेको थियो, त्यो पनि टिमका प्रमुख खेलाडी केन विलियमसनबिना नै । उनी सायद हारकै सम्भावनाबीच भारत गएका थिएनन् ।
अहिले विलियमसन चोटबाट मुक्त भएर आराम गरिरहेका छन् र उनको एक मात्र उद्देश्य थियो, इंग्ल्यान्डविरुद्धको सिरिजका लागि तयार हुने । उनको अनुपस्थितिमा युवा विलियम योङले तेस्रो क्रमको ब्याटिङ स्थान ओगटेका थिए र उनले आफ्नो छाप छाडे पनि । उनले अन्तिम टेस्टमा ७१ र ५१ रनको इनिङ्स खेले । उनै योङ के मान्छन् भने न्युजिल्यान्डको यो जित आफैंमा ठूलो हो । त्यसै उनी मात्र होइन, उनका सबै साथी खेलाडीले यो सिरिजसँग जोडिएका सम्झना कहिले पनि बिर्सन सक्ने छैनन् । उनी भन्छन्, ‘त्यसैले पनि हामीले यो शृंखलामा यति राम्रो खेलेको हुनुपर्छ ।’
उनी नै ‘प्लेयर अफ द सिरिज’ भए । उनको ब्याटबाट छ इनिङ्समा २ सय ४४ रन निस्केको थियो । त्यसैले उनी पनि आफ्नो उपलब्धिमा असाध्यै खुसी हुन चाहन्छन् । न्युजिल्यान्डले सन् १९६९ मा विदेशी भूमिमा पहिलो टेस्ट शृंखला जितेको थियो र यो पाकिस्तानविरुद्ध थियो । ग्राहम डोलिङको नेतृत्वमा न्युजिल्यान्ड तीन टेस्टको शृंखला १–० ले आफ्नो पक्षमा पार्न सफल रहेको थियो ।
सन्असी र नब्बेको दशकमा मात्र न्युजिल्यान्डले टेस्ट क्रिकेटमा खासै राम्रो गरेको हो । १९७९ देखि १९८१ बीच न्युजिल्यान्डले घरमा वेस्ट इन्डिज र भारतलाई टेस्ट सिरिजमा हराएको थियो । यसपल्ट पनि न्युजिल्यान्डको तयारी आफैंमा राम्रो थिएन् । भारत आउन अगाडि न्युजिल्यान्ड श्रीलंकामा २–० ले टेस्ट शृंखलामा पराजित रहेको थियो । तर यही टिमले भारतलाई १२ वर्षयता पहिलो पटक उसकै भूमिमा टेस्ट सिरिजमा हार चखाएको छ ।
पहिलोपल्ट पूर्णकालीन कप्तान बनेका टिम साउथीले श्रीलंकामा हार बेहोरेपछि पद छाडे । उनी अहिले भन्छन्, ‘घरमा फर्केपछि पनि हामीलाई भारतमा प्राप्त यस जितलाई विश्वास गर्न केही समय लाग्नेछ । हाम्रो जित साँच्चै अद्वितीय रहेको छ, न्युजिल्यान्ड क्रिकेट इतिहासकै सबैभन्दा ठूलो । अब न्युजिल्यान्डले घरमा इंग्ल्यान्डविरुद्ध तीन टेस्टको शृंखला खेल्नेछ । पहिलो टेस्ट क्राइस चर्चमा हुनेछ भने त्यसपछिका खेल वेलिङ्टन र ह्यामिल्टनमा हुनेछन् ।