राजविराज —भारतको उत्तरप्रदेशस्थित संबल जिल्लाबाट सप्तरीको बिष्णुपुर गाउँपालिका मलेकपुरस्थित सीता इँटा उद्योगमा ल्याइएका ४४ मजदुरको ८ लाख रुपैयाँ लिएर ठेकेदार भागेपछि उनीहरु अलपत्र परेका छन् ।
ती मजदुरका आफन्तहरुले फरार ठेकेदार खोज्नुको साटो भारतस्थित राष्ट्रिय अनुसुचित जातीय आयोगमा नेपालको इँटा उद्योगमा आफ्ना आफन्तलाई बन्धक बनाइएको, बलात्कार गरेको, खान नदिएको आरोप लगाउँदै उजुरी गरेका थिए । उक्त उजुरीबारे भारतीय पक्षले सप्तरी प्रशासनलाई शुक्रशार जानकारी दिएपछि जिल्ला प्रहरी कार्यालयले सीता इँटा उद्योगमा कार्यरत मजदुरका ११ बालबालिका,१५ महिलासहित ४४ जना भारतीय मजदुरको उद्धार गरेको थियो । प्रहरीबाट उद्धार गरिएर सदरमुकाम राजविराज ल्याइएका उनीहरु इँटा उद्योग संचालकहरुले दिएको खाना खान मानेका छैनन् ।
शनिबार राजविराजस्थित कल्टुदास पोखरीको उत्तरी डिलमा एक निर्माणाधीन घरमा भूइँमा सुतिरहेका उनीहरुले भोकभोकै सुत्न बाध्य भएको बताएका छन् ।