तिहार आउन एक हप्तामात्र बाँकी रहँदा रचनालगायत गुण्डुका किसानलाई पाकेको धान भित्र्याउनु भन्दा मखमली टिप्न र माला उन्नकै धपेडी छ ।
बिहानदेखि बारीमा मखमली फूल टिप्ने र दिनभरी माला गास्ने गरेको रचना सुनाउँछिन् । यसरी गुण्डुका किसानले गासेका मालाहरु लिन व्यापारीहरु उनीहरुकै दैलोमा नै पुगिरहेका छन् । साउन अन्तिम सातादेखि नै फुल टिप्न थालेकी रचना विगतको वर्षभन्दा फुल उत्पादन कम भएको कारण माग अनुसार उपलब्ध गराउन नसकेको बताउँछिन् ।
‘अहिलेको काम भनेको नै बिहान फूल टिप्ने दिनभरी गास्ने नै हो । साउन अन्तिम सातादेखि फुल टिप्न थालेका हौं । फुलबारी र धानबालीसँगै भित्र्याउन समय आयो । तर पहिले ढकमक्क फुलेको फुल टिप्न र माला गास्नमै व्यस्त छौँ । तर विगतको जस्तो फुल उत्पादन नहुँदा माग धान्न गाह्रो छ । फुल कत्ति पनि खेर गएको छैन ।’
रचना जस्तै गुण्डुका बासिन्दालाई तिहारले झपक्कै छोपेको छ । हरेकका घरआँगनमा मखमली फूलका माला गाँस्ने भीड लागेको छ । कोही फूल टिप्न र कोही माला गाँस्न व्यस्त छन् । एक्लाएक्लै र सामूहिक रूपमा माला गाँस्नेको चहलपहल देखिन्छ । विशेष गरेर स्थानीय महिलाहरु आलोपालो गरी माला गाँस्न व्यस्त छन् । प्रतिमाला ५ रुपैंयाँका दरले पारिश्रमिक दिएर माला गाँस्ने काममा हरेक घरमा मान्छेहरू व्यस्त छन् ।
तिहारको भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायूको कामना गर्दै गलामा लगाइदिने मखमली फुल रोप्नेदेखि माला गास्दासम्मका लगानीका बारे जिज्ञासामा रचनाले भनिन्, ‘मखमली खेती त्यति सजिलो छैन । फूलमा चाँडै किरा लाग्छ । किट्नाशक औषधी छर्कनुपर्छ । खर्च पनि उतिकै हुन्छ । कहिलेकाहीँ त नाफाभन्दा बढी खर्च पनि हुन जान्छ ।’
किसान र व्यवसायीबीच सिधा सम्पर्क नहुँदा फुलको उचित मूल्य नपाइएको रचनाको दुखेसो छ । व्यवसायी आफैं फुल लिन आउनुको सट्टा बिचौलियालाई पठाउने गरेको कारण विगत १५ वर्षदेखि एउटै भाउमा मखमलीको माला बेच्नुपरेको उनको गुनासो छ । उनले भनिन्, ‘बजार बाउ राम्रो नै पाइन्थ्यो तर व्यापारीहरु गाँउमा आएनन् । किसानसम्म पुगेर सम्पर्क नै गर्दैनन् । बिचौलियाहरुलाई पठाइदिन्छन् । बजारमा मालाको मूल्य राम्रो छ तर हामीलाई १२ वर्षदेखि एउटै मूल्य दिइरहेका छन् । फूलहरु खेर फाल्नुपर्ने अवस्था चाहीं आएको छैन् । सस्तो मूल्यमा भएपनि विक्री भइरहेको छ । विगत १५ वर्षदेखि मखमली फुलको माला प्रतिगोटा २० रुपैयाँमा बिक्री गरिरहेका छौं ।’ त्यसैगरी, रचना जस्तै अर्की मखमली फूल व्यवसायी राधिका फूयाँलको गुनासो पनि उही छ । फुल व्यवसायी आफैंले बजार र एजेन्ट खोज्नुपर्ने भएका कारण पनि किसानले चाहेको भाउमा बिक्री गर्न नसकिरहेको उनले सुनाइन् ।
उनले भनिन्, ‘किसानले भनेको काम गर्ने हो । तर यहाँ बजार, एजेन्ट सबै आफैंले खोजेर हिड्नुपर्ने अवस्था छ । त्यो पनि कहिले गर्न सकिदैँन् । हामीले २०, २५ रुपैयाँमा बेचेको मालालाई दुईसय रुपैंयाँ तिरेर उपभोक्ताले किनिरहेका हुन्छन् । यस बीचमा विचौलियाले कति खाने रहेछन् भन्ने स्पष्ट हिसाब निस्किहाल्छ ।’चाडवाडको बेला भारतलगायतका क्षेत्रबाट फुल आयात रोक्न सकेमात्र मखमली फुलले बजार पाउने उनीहरु बताउँछन् । मखमली उत्पादनका बेला पानी बढी परेकाले हौसिएर फुल्ने समयमा बोटहरु ढलेका कारण यो वर्ष अपेक्षित फुल उत्पादन हुन नसकेको किसानहरु सुनाउँछन् ।
सरकारको छैन गुण्डुबासीलाई सहयोग
करिब ४० वर्षदेखि गुण्डुबासीले मखमली फुलको व्यवसायिक खेनी गर्दै आएपनि सरकारबाट अहिलेसम्म कुनैपनि सहयोग नगरेको किसानहरुको गुनासो छ । आफ्नो बारीमा फुल्ने फुल अमेरिका, अष्ट्रेलिया, अमेरिकालगायतका देशमा समेत निर्यात हुने गरेको भएपनि सरकार किसानहरुलाई प्रोत्साहित गर्नुको सट्टा भारतबाट फुल आयात गर्न व्यापारीलाई उत्साहित गराइरहेको उनीहरुको आरोप छ । देशभित्रै उत्पादति वस्तुको उचित भाउ नपाउनुको पछाडि सरकारको हात रहेको राधिका फुयालले बताइन् ।
उनी भन्छिन्, ‘नेपाल सरकार भारत बिना बाँच्न नसके जस्तो गर्छ । नेपालमा उत्पादित वस्तुलाई मान्यता दिएको छैन् । हामीले उत्पादन गरेको गोलभेडा समेत खेतमै कुहेर खेर गयो । भारतबाट आयात हुने फूल बन्द गर्ने हो भने हामीले मेहनत गरेको फूल सस्तोमा पनि किन्न आउँथे मानिसहरु । जसका कारण किसानले मूल्य पाउँथे । यसमा सरकारको कमजोरी छ ।’
सरकारले फुल व्यवसायका लागि किसानहरुलाई अनुदान दिन सके देशमा खपत हुने फुल उत्पादन गर्न सकिने उनको दाबी छ । सरकार राजनीतिको पछि मात्र लाग्दा किसान उपेक्षामा परेको अर्की व्यवसायी रचना क्षेष्ठको भनाइ छ ।
उनी भन्छिन्, ‘फुल राम्रो विक्री हुन सकिरहेको छैन् । किसानले सबैमा गर्ने भनेकै मेहेनत हो । मेहेनत गर्दागर्दा पनि हुदैँन्, धेरै गारो हुन्छ । मेहेनतको एक छेउ पनि पाउन गा¥हो छ नेपालमा । यहाँ उत्पादन भएको वस्तु नेपालमा मात्र प्रयोग गर्ने हो भने पनि पुग्दैन् । यसबारे राम्रो नीति नै छैन् । सरकार आफ्नो राजनीतिमा लागेको छ । नेताहरुलाई किसानहरुले फूल खेती गर्छन्, भन्ने कुरा पनि थाहा छैन् होला ।’