पाल्पा —कालीगण्डकी करिडोरअन्तर्गत पाल्पाको पिपलडाँडा–रामपुर–बाँकामलाङ सडकखण्डको ४५ किलोमिटर क्षेत्रमा गत असारमा खसेको पहिरो कात्तिक पहिलो सातासम्म पन्छाइएको छैन । सडक खण्डको सिद्धार्थ राजमार्गदेखि रामपुर नगरपालिका क्षेत्र हुँदै बाँकामलाङसम्म ३०भन्दा बढी पहिरो खसेर सडक एकतर्फी छ । विभिन्न स्थानमा सडक भासिएको छ।
पिपलडाँडा र निक्कीचौरको बीचमा २० मिटर सडक भासिएको छ । असेर्दी र सहदीखोलाको बीचमा पहिरो खसेर सडक एकतर्फी छ । असेर्दीनजिकै सडक माथिल्लो भागबाट भासिएको छ । सडकको पहिरो नहटाउँदा सडकमा साना सवारी सञ्चालनमासमेत समस्या छ । हुँगीको सँगाहालगायतका स्थानमासमेत पहिरो खसेर सडक एकतर्फी छ । गेझा, खालीवन, रामपुर, दर्छा, गाँडाकोट, बाँकामलाङ क्षेत्रमा खसेको पहिरोले गर्दा यात्रामा कठिनाइ भोग्नु परेको जिप चालक जीवन रानाले बताए ।
कालीगण्डकी करिडोरअन्तर्गत पाल्पाको पिपलडाँडा–रामपुर–बाँकामलाङ सडकखण्डअन्तर्गत रम्भा गाउँपालिका–१, असेर्दी क्षेत्रमा खसेको पहिरो ।
माथिल्लो भाग र तल्लो भागमा भासिएपछि सडक खण्डमा यात्रागर्नसमेत कठिनाइ भएको यात्रुको गुनासो छ । रामपुर नगरपालिका–१०, गेझाको सिकोडाँडा र च्याङलिङको बीचमा झन्डै ५० मिटर क्षेत्रमा सडक भासिएको छ । अन्यत्र पनि सडक छेउमा भासिएका छन् । आयोजना कार्यालयले भने ठेक्का लिएको निर्माण कम्पनी इकेके इन्फ्रास्ट्रक्चर प्रालिले केही दिनभित्र काम सुरु गर्ने जनाएको छ । कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पा बर्तुङका सूचना अधिकारी अरुण खत्रीका अनुसार छिटोमा बुधबार र ढिलोमा शुक्रबारसम्म निर्माण कम्पनीले काम सुरु गर्ने बताए । ‘गैंडाकोटतर्फबाट काम गर्दै आएकाले पाल्पातर्फ केही ढिला भएको हो,’ उनले भने, ‘तल्लो भेगमा अझ बढी सडक बिग्रेकाले पनि केही समय ढिलाइ भएको हो ।’
नर्माण कम्पनीले दसैंअघि नै सडक दुईतर्फी खोल्ने जनाएको थियो । तर अहिलेसम्म असारमा खसेको पहिरोसमेत पन्छाएको छैन । जसले गर्दा ठूला सवारी साधन आवातजावतमै समेत समस्या भएको छ । सबैभन्दा बढी पहिरो खसेको रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले आयोजना कार्यालयमा जानकारी गराएको तर काम गर्नमा ढिलाइ भएको बताए । उनले दसैंअघि नै पहिरो सफा गर्ने आश्वासन दिए पनि अहिलेसम्म नपन्छाउँदा असहजता भएको बताए ।
निर्माणको काममा लापर्बाही
भारत र चीन जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत सिद्धार्थ राजमार्गको पिपलडाँडादेखि गैंडाकोटसम्मको १ सय ३१ किलोमिटर कालोपत्र गर्ने क्रममा लापर्बाही देखिएको स्थानीयले गुनासो गर्दै आएका छन् । स्थानीय तहले ट्य्राक खोलेकै स्थानबाट अहिले कालोपत्र गर्दा अधिकांश स्थानमा घुम्ती बढी हुने, सडकको कमजोर भागमा नियन्त्रण गर्न समस्या हुने लगायतका समस्या बेहोर्नु परेको हो।