धरान (सुनसरी) । इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका १० परिवारले नाङ्लो बुन्ने पुख्र्यौली पेसा अपनाएका छन् । व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका राई परिवारले लोभलाग्दो आर्जन पनि गरेका छन् ।
सोही स्थानका वसन्त राई दुई दशकदेखि नाङ्लो बुन्दै आउनुभएको छ । भोजपुर होम्ताङका उहाँको व्यवसाय नै नाङ्लोको व्यापार हो । नाङ्लो बेचेर उहाँले घरव्यवहार चलाउँदै आउनुभएको छ । इटहरी सुनौलो बस्तीमा होम्ताङबाट आएका राई जातिको बाहुल्य छभने सबैको आम्दानीको स्रोत नै नाङ्लोे बुन्ने र बेच्ने भएको छ । उहाँले तालतलैया, खोर्सानेघाटबाट बाँस ल्याउने गर्नुभएको छभने केही आफैँले पनि रोप्नुभएको छ । उहाँले दैनिक १० वटासम्म नाङ्लो बुन्ने गरेको बताउनुभयो।
एक पटकमा दुई सय वटासम्म बिक्रीका लागि नाङ्लो लैजाने गरेको तथा महिनामा रु २० देखि २५ हजारसम्मको नाङ्लो बिक्री गर्दै आएको उहाँले बताउनुभयो । एउटा नाङ्लो रु एक सय ५० देखि दुई सयसम्ममा बिक्री हुने गरेको छ ।
नाङ्लो विशेषगरी असोज–कात्तिकमा धेरै बिक्री हुने गरेको, यसको कमाइले घरखर्च पुगेको अर्का उद्यमी विक्रम राईले बताउनुभयो । उहाँले ग्राहकको मागअनुसार नाङ्लो बनाउने गरेको बताउनुभयो । धरान, विराटनगर, पथरीलगायत क्षेत्रका ग्राहकले नाङ्लो माग गर्दै आएका छन् ।
नाङ्लो व्यवसायी कोपिला राई बजारमा नाङ्लोको माग बढे पनि मूल्य यथावत् रहेको बताउँदै अब लागतअनुसार दाम पनि बढाउन आवश्यक भएको बताउनुहुन्छ । पुख्र्यौली पेसालाई निरन्तरता दिँदै आउनुभएका विक्रम राईले महिनामा दुई सयभन्दा बढी नाङ्लो बेच्ने गर्नुभएको छ ।
नाङ्लो बनाउने बाँस पाउन गाह्रो भएको एउटा सिङ्गो बाँस रु दुई सयसम्म पर्ने गरेको जानकारी दिँदै उहाँले एउटा बाँसबाट १० वटासम्म नाङ्लो बनाउन सकिने बताउनुभयो । “आफ्ना उत्पादन बोकेर गाउँ डुल्नु पर्दैन, घरमा नै आएर व्यापारीले लैजान्छन् । मेहनतअनुसारको कमाइ हुन्छ,” नाङ्लो बुनेर घरखर्च चलाउँदै आउनुभएका विक्रमले घरका सबैले नाङ्लो बुन्ने गरेका जानकारी दिँदै भन्नुभयो ।