जसले पत्ता लगाए ‘बेदिङ गो’ हिमाल आरोहणको नयाँ मार्ग

Logo
Red FM आइतबार, कार्तिक ०४, २०८१

दोलखा —शरद ऋतुमा हिमाल आरोहण गर्नेको बाक्लो चहलपहल हुन्छ । हिमाल चढ्नेको चर्चा भए पनि हिमाल चढाउनेहरु पर्दा पछाडि हुन्छन् । जसले नयाँ–नयाँ हिमाल खोज्दै त्यहाँ पुग्ने बाटो बनाउँछन् ।

हिमाल आरोहण सहज बनाउन बाटो बनाइदिने ती हुन् अन्तर्राष्ट्रिय माउण्टेन गाईड । गौरीशंकर गाउँपालिका–९ बेदिङ ४५ वर्षीय पासाङ किदर शेर्पा पनि त्यस्तै माउण्टेन गाईड हुन् ।

उनलाई बर्सेनि शरद ऋतु लागेपछि नयाँ रुट खोज्ने, बाटो बनाउने र नयाँ हिमाल आरोहण गर्ने चटारो हुन्छ । उनी हिमाल आरोहण गर्नेलाई अध्यापन गर्ने र आरोहणको तालिम दिने काम समेत गर्छन् ।

१६ वर्षको उमेरबाट हिमाल आरोहणमा लागेका पासाङले यो वर्षको शरद ऋतुमा अर्को सफलता हात पारे- निकै कठिन मानिएको ६ हजार १ सय २५ मिटर अग्लो ‘बेदिङ गो’ हिमाल सफल आरोहण गरेर ।

हिमपहिरो आइरहने उक्त हिमाल उनले अल्पाईन शैलीको नयाँ मार्ग बनाएर अमेरिकन पर्वतारोही महिला ५३ वर्षीय डानिका गिल्बर्टलाई पनि चुचुरोमा पुर्‍याए । पासाङ र डानिकाले जोखिम मोलेर ४ रात ५ दिनमा ‘बेदिङ गो’ हिमालको उत्तर पश्चिमबाट असोज २८ गते मध्यान्ह १२ बजेर ७ मिनेटमा सफल आरोहण गरेका हुन् ।

‘निकै कठिन मानिएको हिमाल हो ‘बेदिङ गो’को उत्तर पश्चिम मोहडा,’ उनले भने, ‘यो मोहडाबाट बाटो बनाएर चढ्न सफल भयौं, अब हिमाल चढ्न रहेर गर्नेहरुका लागि अर्को हिमाल पनि थपिएको छ ।’ उनका अनुसार ‘बेदिङ गो’ चढ्न गएको जापानी टोली भने असफल भएर फर्किएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356