निगमका सबै जहाजमा ‘समस्या’, अन्तर्राष्ट्रिय उडान अस्तव्यस्त

Logo
Red FM आइतबार, कार्तिक ०४, २०८१

काठमाडौँ —अन्तर्राष्ट्रिय उडान गर्दै आएका नेपाल वायु सेवा निगमका दुई वटा न्यारोबडी प्राविधिक समस्याका कारण शनिबार घण्टौं ढिलो उड्दा हजारौं यात्रु बिचल्लीमा परेका छन् । ‘आयल फिल्टर’ मा समस्या देखिएपछि न्यारोबडी ‘सगरमाथा’ दिल्लीबाट १९ घण्टा ढिलो गरी काठमाडौंमा अवतरण भयो भने अर्को न्यारोबडी ‘लुम्बिनी’ दुबईबाट उड्ने बेला कम्प्युटर प्रणालीमा समस्या देखिएपछि तीन घण्टा ढिलो काठमाडौं आइपुगेको छ ।

वाइडबडी ‘अन्नपूर्ण’ इन्जिनमा समस्या देखिएर बिहीबार रातिदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको छ । बाँकी अर्को वाइडबडी जहाज भने विस्तृत मर्मत (सी–चेक) का लागि इटालीमा छ । अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग चार वटा मात्र जहाज छन् । सबै जहाजमा समस्या आउँदा उडानका लागि तयार भइसकेका यात्रु प्रभावित भएका छन् । सयौं यात्रुलाई निगमले काठमाडौं र विदेशका स्टेसनका होटलमा राख्नुपरेको छ । ‘कनेक्टिङ’ उडान भएका यात्रुलाई तत्काल अरू जहाजको महँगो टिकट किनेर पठाउनुपरेको छ । दैनिक २ करोडको कारोबार हुने नाफायुक्त नारिता (जापान) को उडान अनिश्चित बनेको छ ।

निगमको वाणिज्य विभागका अनुसार इटालीबाट ‘सी–चेक’ सकेर करिब एक महिनाअघि मात्र ल्याइएको वाइडबडी अन्नपूर्णको दायाँ इन्जिनमा बिहीबार समस्या देखिएको थियो । यो जहाज शुक्रबार काठमाडौंबाट २ सय ४६ यात्रु बोकेर जापान उड्नुपर्ने थियो । उताबाट चाडपर्व मनाउन स्वदेश फर्किंदै गरेका नेपालीसहित

२ सय १३ यात्रु बोकेर शनिबार दिउँसो फर्कने तालिका थियो । यस उडानका कति यात्रु होटलमा छन्, कतिलाई अर्को वायु सेवाबाट पठाइयो भन्ने यकिन जानकारी निगमसँग छैन । ‘धेरैलाई निगमले अरू जहाजको महँगो टिकट किनेर पठायो,’ त्रिभुवन विमानस्थलस्थित निगमको स्टेसनका कर्मचारीले भने, ‘कति उडे, कति काठमाडौं र नारिताका होटलमा छन्, ठ्याक्कै तथ्यांक आइसकेको छैन ।’

निगमका प्राविधिक प्रवक्ता इन्जिनियर मनोज साहका अनुसार त्रिभुवन विमानस्थलको ह्यांगरमा राखिएको वाइडबडीमा ‘एयर टु आयल हिट एक्सचेन्जर’ फेर्नुपर्ने भएको छ । यो उपकरण तत्काल कतै उपलब्ध नभएकाले इटालीमा मर्मतमा राखिएको जहाजबाट झिकेर प्रयोग गर्ने निगमको तयारी छ । १७ किलोग्राम तौलको त्यो उपकरण आइतबार साँझ ६ बजेसम्म एयर कार्गो हुँदै काठमाडौं ल्याइन लागेको इन्जिनियर साहले जानकारी दिए । तर उपकरण समयमै आउने सुनिश्चित छैन । उपकरण जडानपछि भने वाइडबडीले यात्रुको चाप धेरै भएका नारितालगायतका गन्तव्यमा उडान गर्न सक्नेछ ।

निगमले काठमाडौं–नारिताको हवाई रुटमा मंगलबार, शुक्रबार र आइतबारका लागि नियमित उडान राखेको छ । यस रुटमा वाइडबडीबाट मात्रै सम्भव भएकाले निगमले आइतबारको नारिता उडान रद्द गरिसकेको छ । ‘शुक्रबारका यात्रु कति उडे, कति उडेनन् भन्ने थाहा छैन,’ निगमको मार्केटिङ विभागका एक अधिकृतले भने, ‘आइतबारको उडानको टिकट लिइसकेका यात्रुलाई कसरी व्यवस्थापन गर्ने भन्ने पनि निर्णय भइसकेको छैन ।’

२ सय ७४ यात्रु क्षमताको वाइडबडी विमानको उडान रद्द भएपछि उसका गन्तव्यमा बिहीबार राति, शुक्रबार र शनिबार १ सय ५८ सिट क्षमताका न्यारोबडी सगरमाथा र लुम्बिनी उडाइएका थिए । तर चाडपर्वका कारण सिट क्षमताभन्दा धेरै (माइनस बुकिङ) भएकाले दोहा, दुबई, दिल्लीमा यात्रु अलपत्र परेको न्यारोबडीका एक क्याप्टेनले बताए । उनका अनुसार शनिबार दिल्लीमा यात्रु र निगमको स्टेसनका कर्मचारीहरूबीच हात हालाहाल नै भयो ।

 

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356