दोलखा —दसैँ मनाएर काठमाडौँ फर्किन थालेका यात्रुसँग दोलखा- काठमाडौँ सडक खण्डमा सवारी साधनहरूले चर्को भाडा असुलेको पाइएको छ । सवारी साधनको अभाव देखाउँदै व्यवसायीहरूले यात्रुसँग चर्को भाडा असुली गरिरहेका हुन् ।
यसबारे स्थानीय तहहरूमा उजुरीसमेत परेको छ । शैलुङ गाउँपालिका–८ भैँसेबाट पूर्व अरनिको यातायात प्रालिले यात्रुसँग चर्को भाडा असुलेको भन्दै यात्रुहरुले गुनासो गरेका छन् ।
उक्त कम्पनीका बसले नियमित भाडादर ५ सय ५० रुपैयाँ भएपनि यात्रुहरूबाट एक हजारदेखि १५ सय रुपैयाँसम्म असुली गरिरहेको यात्रुहरूको गुनासो छ । शैलुङ गाउँपालिका–८ का अध्यक्ष धनबहादुर थामीले यात्रुबाहक बसले मनपरी भाडा असलेको भन्दै वडामा उजुरी समेत परेको बताए ।
‘दसैँमा दैनिक ८ वटासम्म यात्रुबाहक बसले घर फर्कने यात्रु ल्याएका थिए,’ उनले भने, ‘फर्कने बेलामा बस छैन भनेर टिकट नदिने र फर्जी टिकट बनाएर दोब्बर तेब्बर भाडा लिइरहेका छन् ।’
भैँसेबाट काठमाडौं चल्ने पूर्व अरनिको यातायातका शैलुङेश्वरीका यात्रुबाहक बसले एकै प्रकारको नक्कली टिकट ३/४ जनालाई दिने गरेको पाइएको उनले बताए ।
यात्रुहरु ठगिएको गुनासो गरेपछि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए । यात्रुवाहक बसबाट बढी भाडा लिएको प्रमाण समेत फेला परेकाले बढी भाडा लिने सवारी साधनलाई कारबाही गरिने उनले बताए ।