डेंगी लाग्दैमा नआत्तिन चिकित्सकको सुझाव

Logo
Red FM सोमबार, आश्विन २८, २०८१

गण्डकी —चिकित्सकहरूले डेंगु संक्रमण हुँदैमा नआत्तिन आग्रह गरेका छन् । अधिकांश संक्रमित सामान्य उपचार र हेरचाहबाट निको हुने भन्दै चिकित्सकले दीर्घरोगी, गर्भवती र बालबालिकामा संक्रमण जटिल बन्नसक्ने औँल्याएका छन् ।

धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेंगु संक्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिएमा भने चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने बताए । ‘डेंगु संक्रमण हुँदैमा आत्तिहाल्नुपर्दैन, डेंगुले शरीरमा प्लेटलेट्स मात्रा घटाउन सक्छ, यस्तो अवस्थामा विशेष ध्यान दिनुपर्छ,’ उनले भने, ‘प्रशस्त आराम गर्ने, पानीलगायत झोलिलो पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्नु हुँदैन ।’

कतिपयमा डेंगुले जटिलता ल्याउन सक्ने भन्दै सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै जोखिममा पर्ने उनको भनाइ छ ।

डेंगुबाट बच्ने उत्तम उपाय लामखुट्टेको टोकाइबाट बच्नु रहेको प्रमुख चिकित्सक प्रधानले बताए । डेंगु सार्ने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने उनले बताए ।

डेंगुको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गनुपर्ने प्रमुख चिकित्सक प्रधानले बताए ।

गण्डकी प्रदेशका कास्की, तनहुँलगायतका जिल्लामा गत असारयता डेंगु संक्रमण बढ्दै गएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार हालसम्म गण्डकीका ११ वटै जिल्लामा गरी १२ हजारबढीमा डेंगुको संक्रमण पुष्टि भएको छ । डेंगुबाट कास्कीमा पाँच, म्याग्दीमा एक र तनहँमा एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीका अनुसार असारदेखि कात्तिकसम् डेंगुको संक्रमण बढी फैलने गर्छ ।

उनले पछिल्लो समय प्रदेश राजधानी पोखरामा डेंगु तीव्र रूपमा फैलिएको बताए । डेंगु रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने प्रमुख नेपालीको भनाइ छ । यस रोगबाट बच्न लामखुट्टको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीले बताए ।

 

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356