विराटनगर—चिकित्सातर्फको नोबेल पुरस्कार यस वर्ष ‘माइक्रोआरएनए’ को खोजमा योगदान पुर्याउने अमेरिकी प्राध्यापकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनलाई प्रदान गरिने भएको छ । माइक्रोआरएनए जीनहरूको गतिविधि नियमनसम्बन्धी आधारभूत सिद्धान्त हो ।
नोबेल पुरस्कार कमिटीले सोमबार स्वीडेनको स्टकहाेल्म आयोजित एक कार्यक्रममा प्रतिष्ठित पुरस्कार घोषणा गरेको हो । प्राध्यापकद्वयले अभूतपूर्व खोज गरेका र त्यसले जीन नियमनमा पूर्ण रूपमा नयाँ आयाम थपिएको कमिटीले जनाएको छ ।
युनिभर्सिटी अफ मासाचुसेट्स मेडिकल स्कूलका प्राकृतिक विज्ञानका प्राध्यापक एम्ब्रोसको उक्त अनुसन्धानले हार्वर्ड युनिभर्सिटीमा पुरस्कार प्राप्त गरेको थियो । मासाचुसेट्स जनरल अस्पतालमा आफ्नो अनुसन्धान गरेका रुवकुन हाल हार्वर्ड मेडिकल स्कूलमा आनुवंशिकीका प्राध्यापक हुन् ।
गत वर्ष चिकित्सातर्फको नोबेल पुरस्कार कोभिड–१९ को फैलावट रोक्नका लागि महत्त्वपूर्ण उपकरण एमआरएनए खोपको काम गरेका कटालिन कारीको र ड्रियू वेइसम्यानलाई प्रदान गरिएको थियो । पुरस्कार राशि एक करोड १० लाख स्वीडिश क्रोनर (१० लाख अमेरिकी डलर) छ ।
यस वर्षको पुरस्कार सन् १९०१ यता चिकित्सामा प्रदान गरिने ११५औँ नोबेल पुरस्कार हो । चिकित्सातर्फका २ सय २९ विजेतामध्ये १३ जना मात्रै महिला छन् । भाैतिकशास्त्रतर्फकाे नाेबेल पुरस्कार मंगलबार घोषणा गरिँदै छ ।