कास्की — असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकालगायत देशभरका स्थानका बाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । बाढी पहिरोबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताको खोजी, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत बैठकले गरेको छ ।
‘विपद्का कारण काठमाडौँ उपत्यकासहित देशभर ठूलो मानवीय र भौतिक क्षति भयो, यो विपत्तिको सामना हामी सबै मिलेर गर्नुपर्छ भन्ने ध्येयले प्रदेश सरकारले सहयोग गर्ने निर्णय गरेको हो,’ मुख्यमन्त्री पाण्डेले भने ।
यसअघि जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितहरूका लागि गण्डकी प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गरेको थियो । साथै प्रदेश सरकारले विपद्बाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत, पुनर्निर्माणलगायतका कार्यमा संघ सरकारसँग आवश्यक समन्वय निरन्तर गर्ने जनाएको छ ।
बैठकले गण्डकी प्रदेशभित्र विपद्का कारण भएको क्षतिको अध्ययन गर्न समिति गठन गरेको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा. प्रेरणा सेढाईको संयोजकत्वमा उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सिडिई हरिदत्त पौडेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रवीण ढकाल सदस्य रहने गरी समिति गठन गरिएको हो ।
समितिले प्रदेशभर विपद्ले पुर्याएको क्षतिको मूल्यांकन गरी काम सुरु गरेको १५ दिनभित्र सुझाव सहितको प्रतिवेदन सरकारसमक्ष पेस गर्नेछ ।