विराटनगर-मौसममा आएको परिवर्तनसँगै जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । कपिलवस्तु अस्पताल तौलिहवामा भाइरल ज्वरोको बिरामी बढेका छन् । अस्पताल प्रशासनका अनुसार ५५ शैय्या क्षमताको अस्पतालमा दैनिक करिब दुई सय बढी भाइरल ज्वरोका बिरामी आउने गरेको बताइएको छ ।
मौसममा आएको परिवर्तनसँगै यहाँ भाइरल ज्वरोका बिरामी बढ्दै गएका हुन् । सदरमुकाममा रहेको जिल्ला अस्पताल र अन्य स्वास्थ्य संस्थामासमेत भाइरल ज्वरोका बिरामी बढ्दै गएको बताइएको छ ।
कपिलवस्तु नगरपालिका, मायादेवी गाउँपालिका, यशोधरा गाउँपालिका, बुद्धभूमि र महाराजगंज नगरपालिका क्षेत्रका विभिन्न गाउँहरुमा अहिले भाइरल फैलिएको छ । बिरामीको संख्या बढिरहेको छ । जिल्लाको अन्य स्थानीय तहमा पनि भाइरल ज्वरोका बिरामी बढ्दै गएको अस्पतालका जनसम्पर्क अधिकृत रत्नाकर शुक्लाले बताए ।
भाइरल ज्वरोका बिरामीको चाप बढ्दै गएको अवस्थामा छाला सम्बन्धी बिरामी आउने दर बढेको शुक्लाले बताए । उनले भने, केही दिन यता अस्पतालमा बिरामीको संख्या बढ्दै गएको र उपचारका लागि आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरो र घाखोकीका छन् ।’
वर्षायाममा यस क्षेत्रमा भाइरलको प्रकोप बढेसँगै जिल्ला अस्पतालमा पनि बिरामीको चाप ह्वात्तै बढेको जिल्ला अस्पताल तौलिहवाले बताएको छ । यता, जिल्लाका निजी अस्पतालमा पनि भाइरल ज्वरोका बिरामीको चाप बढेको बताइएको छ । युनाइटेड अस्पतालमा दैनिक जसो अधिकांश भाइरल ज्वरो र रुघाखोकी र छालाका विरामी आउने गरेको अस्पतालका डाइरेक्टर शुन्दर आचार्यले बताए । भाइरल ज्वरो आएका बिरामीले नआत्तिने, झोल पदार्थ बढी खान, सफा पानी बढी पिउन, खानपिन र सरसफाइ लगायतमा ध्यान दिन आचार्यकाे सुझाव छ ।