एकीकृत समाजवादीका शीर्ष तीन नेतालाई केन्द्रीय सदस्य छान्ने जिम्मा

Logo
सुरज सिह बिहिबार, साउन १७, २०८१

विराटनगर- एकीकृत समाजवादीले शीर्ष तीन नेतालाई केन्द्रीय सदस्य छान्ने जिम्मा दिएको छ । महाधिवेशनको एक महिनासम्म पनि केन्द्रीय कमिटीले पूर्णता पाउन नसकेपछि बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले बाँकी सदस्यको नाम टुंग्याउने जिम्मा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई दिएको हो ।

गत १६–२१ असारमा प्रज्ञा भवन कमलादीमा सम्पन्न महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो । १० दिनभित्र २९९ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्ण दिने घोषणा महाधिवेशन हलमा गरिए पनि बाँकी सदस्य चयन हुन अझै सकेको छैन । ‘तीन सदस्यीय कार्यदल बनेको छ । आवश्यक गृहकार्य गरेर नाम टुंग्याउँछौँ,’ खनालले भने ।

केन्द्रीय कमिटीका सदस्यका साथै केन्द्रीय आयोगको संख्या र सदस्यको नाम चयनबारे कार्यदलले गृहकार्य गर्ने छ । १८ साउनमा बस्ने केन्द्रीय कमिटीको अर्को बैठकमा कार्यदलले नामावली प्रस्तुत गर्ने र सोही बैठकले केन्द्रीय सदस्य र आयोगका सदस्यको नाम टुंगो लगाउने एकीकृत समाजवादीले जनाएको छ । महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने गरी विधान पारित गरे पनि आकांक्षी धेरै भएकाले थप एक सय थपेर ३९९ सदस्यीय कमिटी बन्न सक्ने नेताहरू बताउँछन् ।

सबै प्रदेशले केन्द्रीय सदस्यको आकांक्षीको नाम केन्द्रमा पठाएका छन् । योगदान, क्षमता र विगतमा जिम्मेवारी पूरा गरेको आधारमा भूगोल, क्षेत्र, लिंग र उमेर समूह मिलाएर कमिटीलाई पूर्णता दिइने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

विधानअनुसार प्रत्येक जिल्लाबाट कम्तीमा एकजना केन्द्रीय सदस्य हुनेछन् । प्रदेशअन्तर्गतका २५ सय संगठित सदस्यबराबर एकजनाका दरले केन्द्रीय सदस्य थप हुनेछन् । समावेशी क्षेत्रबाट महिला, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, थारू, अल्पसंख्यक गरी ७० जना केन्द्रीय सदस्य हुनेछन् । पदाधिकारीसहित खुला क्षेत्रबाट ८० जना केन्द्रीय कमिटीमा हुनेछन् ।

भूगोललगायत विभिन्न कार्यक्षेत्र, समावेशी र खुला प्रत्येक क्षेत्रमा ३३ प्रतिशत महिलालाई आरक्षण गर्नुपर्नेछ । महिलालगायत सबै निर्वाचन क्षेत्रबाट २० प्रतिशत २५ देखि ४५ वर्ष उमेर समूहलाई आरक्षण गर्नुपर्नेछ । सबैभन्दा बढी बागमतीबाट २३ जना केन्द्रीय सदस्य हुनेछन् । त्यसपछि कोशी र मधेशबाट २१–२१ जना केन्द्रीय सदस्य बन्नेछन्  । कर्णालीबाट १९, लुम्बिनीबाट १८, सुदूरपश्चिमबाट १६, गण्डकीबाट १५ केन्द्रीय सदस्य हुनेछन् । यस्तै, सम्पर्क प्रदेशबाट आठ, पेसागतबाट ६, भारत र अन्य प्रदेशबाट एक–एकजना केन्द्रीय सदस्य बन्नेछन् । केन्द्रीय कमिटीले पूर्णता पाएपछि पदाधिकारी चयन र नेताहरूको कार्यविभाजन गर्ने एकीकृत समाजवादीको तयारी छ । विधानअनुसार केन्द्रीय समितिको एकतिहाइ पोलिटब्युरो, पोलिटब्युरोको एकतिहाइ स्थायी कमिटी र २१ सदस्यीय पदाधिकारी रहनेछ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356