विराटनगर — प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल वर्तमान सत्ता समीकरणभन्दा बाहिर नजाने दाबी गरेका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै दाहालले बिहीबार बिहान नेपालले आफूलाई वर्तमान सत्ता समीकरणभन्दा बाहिर नजाने स्पष्ट गरेको बताएका हुन् ।
‘माधवजीको व्यवहार केही पहिलादेखि प्रतिपक्षसँग पनि र सत्ता पक्षसँगपनि जोडिने जस्तो देखिएको थियो,’ दाहालले भने, ‘आज बिहान मसँग कुरा हुँदा माधवजी वर्तमान समीकरणभन्दा बाहिर नभएको र नहुने पनि कुरा क्लियर गर्नु भएको छ ।’
मधेश प्रदेशमा पनि वर्तमान गठबन्धनकै सरकार बन्ने प्रधानमन्त्री दाहालको भनाइ छ । बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा नेपालसहित, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर मधेशमा सरकार निर्माणबारे छलफल गर्न पुगेका थिए ।