३५ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पुरा होला ?

Logo
Red FM बुधबार, पुष ११, २०८०

सरकारले एक दशकमा ३५ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ। अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक २०८०/८१ को बजेट भाषणमै सांस्कृतिक सम्पदाहरूको संरक्षण र सम्बद्धन गरी पर्यटनहरूलाई आकर्षित गर्ने घोषणा गरेका थिए।

त्यसका लागि सरकारले पर्यटन क्षेत्रमा २ अर्ब ५८ करोडले बजेट वृद्धि गरी ११ अर्ब ९६ करोड विनियोजन गरेको थियो। अर्थमन्त्री महतले सन् २०२३–२०३२ लाई पर्यटन दशकका रूपमा मनाउने घोषणा समेत गरेका थिए। पर्यटन दशक यसको अवधिमा सरकारले ३५ लाख पर्यटक नेपाल भित्राउने लक्ष्य राखेको छ।

सन् २०२३ मा भने सरकारले १० लाख पर्यटक भित्राउने लक्ष्य राखेको थियो। पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सरकार लक्ष्यको नजिक पुगिसकेको छ। पर्यटन बोर्डको तथ्याङ्क अनुसार २०२३ को नोभेम्बर महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या ९ लाख १८ हजार ३ सय ८ पुगेको हो।

१० लाखको लक्ष्य पुरा हुन अब ८० हजार पर्यटकको मात्र खाँचो देखिएको अवस्थामा डिसेम्बरसम्म सो संख्या सहजै पुरा हुने महानिर्देशक लामिछानेको दाबी छ। महानिर्देशक लामिछानेका अनुसार पर्यटन दशक (२०२३–२०३२) सवालमा भने सरकारले २०२३ लाई पर्यटन दशक तयारी वर्षका रुपमा लिएको छ।

‘यो वर्ष त तयारीको हो। अर्को वर्ष धमाधम कार्यक्रमहरू हुन्छ। यसको लागि सम्बन्धित मन्त्रालय र हामी लागिरहेका नै छौ,’ उनले थपे, ‘पर्यटन मन्त्रालय हाम्रो अभिभावक हो, हामी त सहयोगी संस्था मात्रै है, हामी अभिभावकले भने अनुसार चल्छौ।’

सन् २०३२ सम्ममा ३५ लाख पर्यटक सजिलै नेपाल भित्राउन सकिने उनले दाबी गरे। नेपाल दुई ठूला मुलुकबिचको एकदमै सुन्दर राष्ट्र भएको र दक्षिण एसिया पछिल्लो समय आर्थिक रूपमा पनि समृद्ध बन्दै गर्दा पर्यटनको सम्भावना अपार भएको लामिछाने बताउँछन्।

हरेका वर्ष १० देखी १५ प्रतिशत पर्यटकको संख्या क्रमशः बढ्ने जनाउँदै उनले अन्तर्राष्ट्रिय एयरपोर्ट सञ्चालनमा आउनु, मुलुकको पर्यटनको आयतन क्रमशः फराकिलो हुँदै जानुका साथै पूर्वाधार विकासले पनि पर्यटकलाई आकर्षित गरेको बताए।

२०२४ जनवरी देखी पर्यटकको तथ्याङ्कलाई पनि छुट्टा छुट्टै सङ्कलन गरिने भएको छ। तथ्याङ्क समग्रमा र नेटिभ र एनआरएन भनेर पनि गरिनेछ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356