विराटनगर — रामपुर बजारनजिके राम्चे सामुदायिक वनमा भीषण डढेलो लागेको छ । शनिबार अपरान्हदेखि सुरु भएको डढेलो राम्चे वनको झाँक्री थानभन्दा माथिल्लो भागबाट सुरु भएको हो । डढेलोले भीषण रूप लिएपछि रामपुर बजार क्षेत्रका बासिन्दासमेत त्रसित भएका छन् ।
यही सामुदायिक वनमा गत बुधबार पनि रामपुर नगरपालिका–५, रामपुरको गैराक्षेत्रबाट सुरु भएको थियो । डढेलोले भीषण रूप लिएर राम्चे वनमा पसेको हो । पर्यटकीय र भ्युटावर क्षेत्र रहेकाले स्थानीय बासिन्दा जोगाउन लागिपरेको स्थानीय प्रकाश ज्ञवालीले बताए । वनको दक्षिणतर्फको भाग र माथिल्लो भागमा लागेको डढेलो नियन्त्रणमा आए पनि पुनः शनिबार लागेको उनले बताए ।
शुक्रबार पनि सुकेका रुखमा रहेको आगोले राम्चेकै खैजनी खोला क्षेत्रमा सल्किएको थियो । तर उपभोक्ताले नियन्त्रणमा लिएका थिए । डढेलोबाट बचेको क्षेत्रको वन जोगाउन निरन्तर प्रयास गर्दै आएको राम्चे सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दयाराम गैरेले बताए ।
तीन दिन अघि आगो लागेको स्थानबाट आगो निस्किएर डढेलो फैलिएको उनले बताए । वनको झाँक्री थानभन्दा माथिल्लो क्षेत्रबाट डढेलो सुरु भएको हो । आगो देखिने बत्तिकै उपभोक्ता नियन्त्रणका लागि पुगे पनि हावाहुरीले आगो चरैतर्फ फैलिएको हो । बस्ती रहेको राम्चे गाउँ र भ्युटावरतर्फ आगो सल्किन थालेपछि वनको केही भाग जोगाउन, वनभित्र रहेको सभाहललगायतका संरचना र बस्ती बचाउने प्रयासमा उपभोक्ता र सुरक्षाकर्मी प्रयासरत छन् ।
खडेरीका कारण सुख्खा रहेको वनको अधिकांश भागमा डढेलो फैलिएको छ । रामपुर नगरपालिकाको दमकलसहित सयौंको संख्यामा उपभोक्ता, प्रहरी र वनका कर्मचारी वन क्षेत्रका संरचना जोगाउन खटिएको सबडिजिभन कार्यालय रामपुरले जनाएको छ ।