विराटनगर हामीले तय गरेको यात्रा र समातेको बाटोले अक्सर एक नयाँ परिचय दिन्छ जीवनलाई । जस्तो कि, पूजा न्यौपानेसँग अब जोडिने परिचय हुनेछ, मानवअधिकार अधिकृत । राष्ट्रिय मानवअधिकार आयोगका लागि चाहिने अधिकृत तहको लोक सेवा आयोगको परीक्षामा फागुन ८ मा टप घोषित गरिएकी न्यौपानेको अबको दैनन्दिनको काम हुनेछ, संविधानमा उल्लेख गरिएका मौलिक हक हनन हुन नदिनु र पालना गराउने आयोगको काममा लाग्नु ।‘यसका लागि मेरो भूमिका ठ्याक्कै के हुन्छ र कामको प्रकृति के हुन्छ चाहिँ केही दिन अझै भन्न सक्दिनँ,’ जीवनको पहिलो जागिरको सानदार सुरुवात हुने दिन चैत १ पर्खेर बसेकी उनको उल्लासपूर्ण उत्सुकता छ, ‘किनभने मेरो डिपार्टमेन्ट तोकिनै बाँकी छ ।’
अन्तर्राष्ट्रिय कानुनमा स्नातकोत्तर गर्दै गरेकी पूजालाई लाग्छ, मानवअधिकारको संरक्षण र प्रवर्द्धन गर्ने गराउने आयोगको काममा उनको पढाइ र उत्साह दुवैले साथ दिनेछ । कानुनको स्नातक तह सकिएपछि २०८० को सुरुवात हुनुअघि नै उनले लोक सेवा आयोगको तयारी गर्न थालेकी थिइन् । भक्तपुरको दक्षिण–पश्चिम कुनोमा पर्ने गाउँ बिरुवामा जन्मेहुर्केकी पूजाले पहिलो तयारीमै टपर हुनुको गौरवपूर्ण आनन्द बटुलेको देख्दा मानिसहरू सोध्ने गर्छन्, आखिर कसरी उनी यो सफलताको भागीदार हुन सकिन् ? के त्यस्तो कारण थियो, जसले उनलाई अरूभन्दा अब्बल सावित गर्यो ? बधाईसँगै उनलाई मानिसहरू अचेल सोध्छन्, सारा तन्नेरीले देश छाडिरहेका बेला के कारणले उनलाई लोक सेवा लड्न उत्प्रेरित गर्यो त ?
‘सायद घरको प्रभाव । बाबु र दिदी दुवै जना सरकारी जागिरे भएकाले सानैदेखि आफू पनि यही जीवनवृत्ति रोज्छु भन्ने लाग्थ्यो,’ पूजा मुसुक्क हाँसिन्, ‘सानैदेखि देशका लागि काम गर्नुपर्छ जस्तो लाग्थ्यो, देशमा सकारात्मक परिवर्तन ल्याउन सक्ने र विकास गर्न सक्ने स्थानमा पुग्ने मन थियो, अहिले त्यही भयो ।’ उनका सहसचिव बुवा शिवराम र उपसचिव दिदी आरती दुवै सामान्य प्रशासन मन्त्रालयमा छन् । उनीहरू दुवैको करिअरले पूजालाई पनि आकर्षित गरेको हुँदो हो, उनले विद्यार्थी जीवनमै लोक सेवामार्फत नै जीवनवृत्तिलाई अघि बढाउने तय गरेकी थिइन् । त्यसैले, २०७० मा एसएलसी दिँदा उनको स्कुल भीएस निकेतनमा पढ्ने सँगैका दुई सयभन्दा बढी सहपाठी प्लस टु सकेपछि अस्ट्रेलिया र अमेरिका उडे तर पूजाले भने यहीं पढाइ जारी राखिन् । पावर अफ योर सबकन्सियस माइन्ड, दी सेक्रेट, दी पावर अफ पोजिटिभ थिङकिङ, एटोमिक ह्याविट, विकमिङ सुपर नेचुरल, दी मङ्क हु सोल्ड हिज फेरारी जस्ता उत्प्रेरणादायी पुस्तकका पाना पल्टाएर उनले सपनालाई कसरी पाउन सकिन्छ भन्ने विधि पत्ता लगाइन् ।
अस्ट्रेलियाकी प्रसिद्ध लेखिका रोन्डा बर्नको लोकप्रिय पुस्तक ‘दी सेक्रेट’मा सोचविचार र कल्पनाको वस्तुलाई पाउन मस्तिष्कलाई तयार पार्ने विधि ‘भिजन बोर्ड’ का बारेमा उल्लेख छ । आफूले पाउन खोजेको कुरा र बाँच्न खोजेको जीवन कस्तो छ, त्यसलाई महसुस गर्दै प्रतीकका रूपमा केही लेख्नु वा तस्बिरहरू काठको फलेक वा यस्तै केहीमा टाँसेर दिनरात देखिने ठाउँमा राखिएको वस्तु नै ‘भिजन बोर्ड’ अर्थात् ‘दर्शन पाटी’ हो । दर्शन पाटी दिनमै धेरै पटक आँखामा पर्नाले प्रत्येक दिन लक्ष्यको स्मरण हुन जान्छ र हाम्रो अवचेतन मनले त्यसअनुसारै विचारको शक्ति र कर्मको बल प्रदान गर्छ भन्ने सिद्धान्त यसमा छ ।
उनले दर्शन पाटीमा टाँसिन् । जतिखेर पनि यो देखेपछि आफूलाई एकाग्र चित्तले तयारीमा लाग्न बल मिलेको उनको अनुभव छ । ‘अनि मैले आफू पनि मानवअधिकारको क्षेत्रमा काम गरेको र अरूको जीवनमा प्रभाव पार्ने भूमिका निभाइरहेको भिजुलाइजेसन एकदम धेरै गरें,’ पूजा भन्छिन्, ‘त्यसले साँच्चै नै म गर्न सक्छु भन्ने एउटा गहिरो आत्मविश्वास दिने रहेछ ।’
रोन्डा बर्नले भनेजस्तै आकर्षणको नियमलाई पूराका पूर पालना गरेर पूजाले गएको वर्ष स्नातक पढाइ सक्नेबित्तिकै लोक सेवाको तयारी थालिन् । गत भदौमा उनले कानुन सेवा, मानवअधिकार अधिकृत र परराष्ट्र समूहका लागि लहरै परीक्षा दिइन् । परराष्ट्रमा उनले अधिकृत र सुब्बा दुवैका लागि जाँच दिएकी थिइन् । पहिलो नतिजा कानुन समूहको आयो, जसमा उनको नाम निस्किएको थियो । तर उनलाई पूराका पूरा कानुनी काम गर्नु थिएन, दृश्य पाटीमा पनि उनको आउनेवाला भविष्यमा कानुन अधिकृतको जीवनवृत्ति थिएन । ‘त्यसैले मैले कानुन सेवामा नाम निक्ले पनि अन्तर्वार्ता दिन गइनँ, किनभने परराष्ट्र र मानवअधिकार आयोगको नतिजा आउनै बाँकी थियो,’ कसरी उनले आफ्नो सपनालाई विश्वासपूर्वक पछ्याइन् भन्ने सुनाउँदा पूजाका आँखा चम्किला भए, ‘अलिक पछि, परराष्ट्रको नतिजा आयो, अधिकृतमा वैकल्पिक र सुब्बामा चाहिँ नियुक्तिका लागि नाम निक्लियो तर मलाई त्यो पनि खानु थिएन ।’
यसरी, दुई–दुईतिर मिलेको जागिर छाडेर, आकर्षणको नियम भन्दै टुंगो नभएको जागिर कुरेर बसेकी पूजालाई देख्दा उनका चिनजानकाहरू छक्क पर्ने नै भए । तर, ती तब झन् धेरै छक्क परे, जब साँच्चै नै चाहेको जागिरमा पूजाको नाम एक नम्बरमा सिफारिस भयो । फागुन ८ गते टपरका रूपमा आफ्नो नाम देख्दा पूजालाई खुसीको उन्मादी छाल आउने गरी अतिरिक्त हर्ष लागेन, किनभने यो हुन्छ नै भन्ने उनको विश्वासको परिणति थियो । तर, घर–परिवारदेखि टोलछिमेक र विदेश गएका साथीहरूसमेतले बधाईको ओइरो लगाएपछि उनलाई लाग्यो, यो त अलिक विशेष उपलब्धि पो रहेछ । ‘मलाई टपरको यस्तो चासो हुन्छ भन्ने थाहा थिएन,’ परीक्षाको नतिजा प्रकाशन र नियुक्तिको मितिका बीचमा मिलेको फुर्सदिलो समयमा घरमा लागेको भागवत् सप्ताहको पूजा सिध्याएर गएको बिहीबार कान्तिपुरसँगको कुराकानीमा पूजाले भनिन्, ‘जसले पनि अहो, टपर पो भनेर बधाई दिन थालेपछि यसको महत्त्व धेरै रहेछ भन्ने लाग्न थालेको छ ।’
पूजाको सानदार प्रवेशसँगै उनको पाँच जनाको परिवारमा सरकारी जागिर खानेहरूको बहुमत पुगेको छ । ब्युरोक्रेट्सको घरेलु क्लबमा कक्षा ९ मा पढ्दै गरेको भाइले पनि पूजाले झैं आकर्षणको नियम पछ्याएर सदस्यता लिन पुग्यो भने त बहुमत दुई तिहाइको हुनेछ । र, यस्तो भयो भने रोजगारीको खोजीमा विदेशिएर युवाहरूले रित्तिन पुगेको नेपाली घरहरूको माझमा उनको घर एक आकर्षक अपवाद हुनेछ । ‘तर भाइले के गर्छ, त्यो त म भन्न सक्दिनँ,’ पूजा मुस्कुराइन्, ‘हाललाई, हामी तीन बाबु–छोरीचाहिँ नेपाल सरकारकै सेवामा हाजिर छौं ।’
२५ वर्षीया पूजाले हात पारेको यो सफलताको पृष्ठभूमिमा उत्साहपूर्ण तयारी मात्रै होइन, निराश पार्ने समय र परिस्थितिहरू पनि थिए । पूरा तयारी गरेर बसेका बेला कहिले परीक्षा सर्ने, कहिले मानवअधिकार आयोगको भर्ती प्रक्रियामै मुद्दा पर्ने स्थितिले समय त्यसै लम्बियो । सँगैका साथीहरूले पढाइ सक्दै जागिर खाइसक्दा आफू भने फारमहरू भर्ने र परिणामको टुंगो नभएको प्रक्रियामा पट्यार लाग्दो गरी सहभागी हुने उपक्रममै टाक्सिएको देख्दा पूजालाई ‘म त पछि पो परें कि क्या हो’ भन्ने भावले तिलमिल्याउँथ्यो । परिणामतः लोक सेवाको तयारीमा जुटेका अरू तन्नेरीलाई झैं उनलाई पनि निराश बनाएको थियो । त्यसलाई जित्न उनले ध्यानहरू गरिन्, एकाग्रताका साथ चित्तको विचलनलाई नियालिन् र दर्शन पाटीको सहाराले फेरि उही उत्साहका साथ तयारीमा जुटिरहिन् ।
संसारभरकै सामान्य ज्ञानका बारेमा जान्नुपर्ने अनि लिखित परीक्षाका प्रश्नको उत्तरमा गहिरो सुझबुझ चाहिने भेउ पाएपछि लोक सेवाको परीक्षा कलेजको भन्दा फरक रहेछ भन्ने बुझ्न उनलाई धेरै समय लागेन । सामाजिक सञ्जालमा समय बिताउने समवयी युवाहरूको चल्तीको बानीविपरीत मोबाइल र इन्टरनेट उस्तो नचलाउने पूजाको दिनचर्याले पढ्नमा प्रशस्त समय निकाल्यो । घरमै बाबु र दिदीहरूको अनुभवले होला, तयारीका लागि उनलाई बाहिर खुलेका कुनै कक्षाहरू लिन जरुरत छजस्तो लागेन ।
टपरहरूलाई अक्सर सोधिने साझा प्रश्न हो– तिनको सफलताको रहस्य । पूजालाई पनि मानिसहरू यो सोध्छन् नै । ‘मैले कलेजमा जसरी पढें, त्यही बानीले लोक सेवाको तयारी गरें,’ पूजाको सरल जवाफ छ, ‘किनभने, जसरी पढ्दा बुझ्ने गरिन्छ, त्यसरी नै पढ्ने बानी बसेको हुन्छ हाम्रो, त्यो बदल्न हुँदैन ।’ आफ्नो पढ्ने शैलीलाई पूजाले नाम दिएकी छन्, सिस्टमेटिक अन्डरस्ट्यान्डिङ अर्थात् प्रणालीबद्ध बुझाइ । ‘लोक सेवा भन्दैमा रट्नुपर्ने र सबै फरर याद हुनुपर्ने भन्ने होइन,’ उनी भन्छिन्, ‘बुझ्नुपर्ने हो मुख्यतः, त्यसका लागि हरेक विषयको पछिल्लो सन्दर्भ पनि खोज्ने अनि परीक्षाका बेला त्यो पनि लेख्ने गर्नु सबभन्दा राम्रो हो ।’
तथ्यांक, समसामयिक घटना र तथ्यहरूको सन्दर्भ सम्झेर मात्रै हुँदैन, त्यसको पृष्ठभूमि लेख्न र व्याख्यासमेत गर्न सक्ने गरी पढ्न पर्छ भन्ने पूजाको ठम्याइ छ । जसरी, हप्तामा एक वा दुई दिन कामबाट पूरै छुट्टी लिने अनि कामका बीचमा बेलाबेला आराम गर्ने चलनले श्रमको निरन्तरतामा बल दिन्छ, त्यही ढाँचा अवलम्बन गर्नाले पढाइमा पनि बाधा आउन पाउँदैन भन्ने पूजाको अनुभवसिद्ध निचोड छ । पढ्ने भन्दैमा घोटिएको घोटियै गर्छन् अक्सर परीक्षार्थीहरू । पूजा भने आराम र अध्ययनको सन्तुलन मिलाएर पढ्नुपर्छ भन्ने सिद्धान्तको पक्षधर छन् ।
मानवअधिकारका मूलभूत सिद्धान्त जीवन, स्वतन्त्रता, समानता, मर्यादा र न्यायप्रति पूजाको गहिरो लगाव छ । संयुक्त राष्ट्रसंघको माथिल्लो इकाइमा पुगेर संसारभरका मानिसको जीवन र स्वतन्त्रताका लागि काम गर्ने आफ्नो सपनाको पहिलो खुड्किलो मानवअधिकार आयोगको अधिकृत हुनु नै हो भन्ने ठम्याइ र पढाइको सुझबुझपूर्ण रणनीतिले आयोगले २९ अधिकृतका लागि खुलाएको आवेदनमा सहभागी भएका ५ सय २४ प्रतिस्पर्धीलाई उछिनेर पूजा पहिलो बनेकी छन् ।लोक सेवा आयोगमा अन्तर्वार्ताका दिन उनलाई चासोपूर्वक सोधिएको थियो, ‘मिलिसकेको कानुन सेवाको जागिरमा नगएर किन मानवअधिकार आयोगकै लागि कुरेर बसेको ?’ प्रत्युत्तरमा पूजाले आफू मानिसका हक र अधिकारका विषयमा ज्यादा अनुरक्त हुनाले यसैलाई रोज्न पुगेको भनी बुझाउन सक्दो तर्क गरेको बताइन् । ‘किन किन, मलाई मानवअधिकारका विषयमा लगाव छ,’ उनी भन्छिन्, ‘यसका बारेमा बोल्दा, लेख्दा र सोच्दा मलाई आनन्द आउँछ ।’
मनोवेत्ताहरूको विश्लेषण के छ भने खुसी हुने दुई तरिका छन् । पहिलो हो– जे गर्दा आनन्द आउँछ, त्यही काम गर्ने । दोस्रो चाहिँ– जे गरिरहेको छ, त्यसैमा आनन्द मान्ने । आनन्द आउने गर्न पाइएन र गरेको काममा आनन्द आएन भने परिणाममा आइलाग्ने भनेको निराशा र दुःख नै हो । त्यसो नहुन पूजाले आनन्द आउने काम रोजेर पहिलो बाटोमा पाइला हालेकी छन् ।
‘म सानो दायरामा खुम्चेर बस्न चाहन्नँ,’ पृथ्वीभर नै फैलिन चाहने आफ्ना आकांक्षाहरूका बारेमा पूजा भन्छिन्, ‘मानिसका हक र अधिकारको कुनै सीमा र भूगोल छैन, त्यसैले यसलाई रोजेको हुँ ।’ हुन पनि, उनको मनले रुचाएको मानवअधिकारको संरक्षण र पैरबी नै त्यस्तो काम हो, जसले सीमाहरूका कारण यसमा आउने संकुचनलाई अस्वीकार गर्छ । त्यसैले त, एक ठाउँमा भएको मानवअधिकारको उल्लंघन सबै ठाउँका लागि दण्डनीय अपराध ठहर्छ । जबकि, कुनै एक देशमा भएको वित्तीय वा अन्य कसुर अर्को देशको कानुनमा कसुर नठहर्न पनि सक्छ ।
यस्तो विश्वव्यापी महत्त्व भएको र सीमाहरूको साँघुरो परिधिभन्दा माथि उठेको विषयमा काम गर्ने आयोगको अधिकृत हुन पाउँदा अपार हर्ष लागेको छ पूजालाई । ‘तर, त्योसँगै चुनौतीको पनि आभाष हुन थालेको छ,’ उनले भनिन्, ‘किनभने, टपर भनेर सबतिरबाट चासोका साथ सोधीखोजी भएको हुनाले अपेक्षाअनुसारको सक्रियता देखाउन र परिणाममुखी काम गर्न पर्छ भन्ने दबाब यसले बढाएको छ ।’