आगामी तीन दिनसम्म देशभर ठूलो वर्षाको सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो वर्षाको सम्भावना नभए पनि कतैकतै छिटफुट वर्षा हुन सक्ने महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।
बिहीबार काठमाडौंमा यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको भन्दै उनले विस्तारै देशभर चिसो हुने क्रम बढिरहेको बताए । उनका अनुसार काठमाडौंमा बिहीबार न्यूनतम तापक्रम तीन डिग्रीमा झरेर सोमबारको रेकर्ड तोडेको हो । यसअघि गत सोमबार तीन दशमलव दुई डिग्री मापन गरिएकामा शून्य दशमलव दुई डिग्री झरेपछि बिहीबार यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको मौसमविद् लामिछानेले जानकारी दिए । बिहीबार अधिकतम तापक्रम १६.६ डिग्री मापन गरिएको थियो । बिहीबार सबैभन्दा कम तापक्रम जोमसोमको रहेको लामिछानेले बताए .
तराईमा बाक्लो हुस्सु र कुहिरो जारी रहने तथा हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा बादल लागेर घाम कम लाग्ने भन्दै देशभर चिसो बढ्ने क्रममा रहेको उनले बताए ।