बलुचिस्तानमा इरानको मिसाइल र ड्रोन आक्रमणपछि पाकिस्तानले तेहरानमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाउने घोषणा गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले आफ्नो देशमा गइसकेका इरानी राजदूतसमेत अब पाकिस्तान फर्कन नसक्ने बताएका छन् ।
पाकिस्तानले दुई देशबीचका सबै उच्चस्तरीय भ्रमण रद्द गरेको पनि घोषणा गरेको छ । प्रवक्ताले पाकिस्तानको निर्णयबारे इरान सरकारलाई जानकारी गराइएको पनि बताएका छन् ।
पाकिस्तानले इरानको आक्रमण पाकिस्तानको सार्वभौमसत्ताको खुला उल्लंघन भएको बताएको छ । यो अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र संघको बडापत्रको उद्देश्य र सिद्धान्तको उल्लंघन रहेकाे उसले बताएकाे छ ।
विदेश मन्त्रालयले यस गैरकानुनी कदमको जवाफ दिने अधिकार पाकिस्तानसँग रहेको बताएको छ ।