शनिबार, पुष २८ चालक अनुमति पत्र (लाइसेन्स) कार्ड अभावले जारी गर्न नसकिरहेको अवस्थामा ६ लाख थान कार्ड जर्मनीबाट आएको छ । काड आएपछि यातायात व्यवस्था विभागलाई राहत मिलेको छ । जर्मनीको म्युह्लवार कम्पनीबाट शुक्रबार बिहान लाइसेन्स कार्ड आइपुगेको विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताएका छन ।
करिब ४५ हजार मात्र कार्ड विभागसँग भएको अवस्थामा थप ६ लाख थान आएपछि वितरण खुकुलो हुनु भएको छ
। कार्ड पर्याप्त नभएकाले ६ महिनायता सीमित मात्रामा लाइसेन्स वितरण गरिँदै आएको थियो । परीक्षा उत्तीर्ण गरी नयाँ लाइसेन्स लिने र नवीकरण गर्नेको सङ्ख्या १४ लाख ५८ हजार पुगेको छ ।
१२ लाख कार्ड छाप्ने ठेक्का म्युह्लवार कम्पनीले यातायात व्यवस्थाबाट पाएको छ । जसमध्ये ६ लाख कार्ड पहिलो चरणमा शुक्रबार आइपुगेका हुन् । बाँकी ६ लाख कार्ड ४५ दिनभित्र आइपुग्ने विभागले जनाएको छ ।