गायिका एलिना चौहानले स्टेज भासिएर गायिका ज्योति मगर लडेको घटनामा ‘भद्दा मजाक’ नगर्न आग्रह गरेकी छिन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गायिका चौहानले उक्त भिडियोलाई लिएर ज्योति मगरमाथि ‘भद्दा मजाक’ भइरहेको र त्यसो नगर्न आग्रह गरेकी हुन्।
उनले लेखेकी छिन्, ‘म एक कलाकार भएको हिसाबले कार्यक्रममा आफू अघिका दर्शकलाई रुझाउन अनि उहाँहरुको ध्यान आफू प्रति खिच्न कति कठिन छ त्यो मैले मजाले महशुस गर्न सक्छु। उक्त भिडियोलाई लिएर कति मानिसले भद्दा मजाक गरेको पाए, त्यो धेरै गलत हो। कृपया त्यसो नगरिदिनुहोला। सबैलाई ज्योति दिदीको आवाज, प्रस्तुति र ज्योति दिदिनैपनि मन नपर्न सक्छ तर त्यो दुर्घटना थियो, यसलाई मजाकको हिस्सा बनाउनु गलत हो।’
उनले साङ्गीतिक कार्यक्रममा दुर्घटना हुन नदिन आयोजकलाई जिम्मेवार र गम्भीर बन्न पनि सुझाव दिएकी छिन्।
इलामको माइ नगरपालिकामा आयोजित १३ कुने सिमसार महोत्सवमा गायिका ज्योति मगर गीत गाउँदै नाच्ने क्रममा उफ्रँदा भ्वाङ परेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।