नेपालमा हिन्दु राष्ट्र स्थापना गर्न पूर्वाञ्चलबाट जनजागरण अभियान सुरु भएको हिन्दु सन्तहरूले उदघाेष गरेका छन् । शुक्रवार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै साधु सन्तहरूले मुलुकमा जस्तो सुकै आन्दोलन गरेर भए पनि हिन्दु राष्ट्र घोषणा गरेरै छाडने उदघाेष गरेका हुन ।
नेपालका प्रथम जगत् गुरु बाल सन्त मोहन सरण देवानाचार्यकाे उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा हिन्दु गुरुहरूले सरकार समक्ष ११ सूत्रीय माग राखेका छन् । धरानको बाल गोपाल मन्दिर अगाडी बनेको चर्च तत्काल बन्द या स्थानान्तरण गरिनुपर्ने ,धर्म परिवर्तन गरेर जाने ब्याक्तीकाे नेपाली पहिचानका नाम र थर परिवर्तन गरिनुपर्ने , धर्म परिवर्तन गर्न नपाउने कानुनलाई कडाइका साथ लागु गरिनुपर्ने , सामाजिक सेवाको नाममा धर्म परिवर्तनलाई प्रोत्साहन दिने खालका विदेशी संस्थाहरूको पहिचान गरी अनुमति रद्ध गरी त्यस्ता संस्था वा ब्याक्तीलाइ तत्काल देश निकाला गरिनुपर्ने , जनताको हित विपरीत संविधानमा राखिएको धर्म निरपेक्ष शब्दलाई हटाएर नेपाललाई सनातन हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने , नेपाललाई धार्मिक ,सामाजिक , जातीय दव्न्दमुक्त शान्ति क्षेत्र घोषणा गरिनुपर्ने जस्ता जायज माग राखेका छन् ।
साथै शनिवार इटहरीमा ‘जनजागरण सन्त सभा हुने र यो सभामा देशभर रहेका मठ मन्दिरहरूका साधु सन्तहरू भेला हुने पत्रकार सम्मेलनमा जनाइएको छ । अहिलेको व्यवस्थाबाट धर्मको संरक्षण हुन नसक्ने ठहर सहित यो व्यवस्था परिवर्तन गराउनकै लागि भए पनि इटहरीमा विशाल सन्तहरूको सभा आवश्यक रहेको बताइएको छ । पूर्वेली न्यूज डटकमबाट साभार /