

स्थानीय उद्योग व्यापार प्रवर्द्धनका लागि संघको भूमिका उल्लेखनीय : अध्यक्ष राउत
बिर्तामोड, झापा – बिर्तामोड उद्योग वाणिज्य सङ्घको सातौँ वार्षिक साधारण सभा नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा सङ्घका अध्यक्ष राजु न्यौपानेको अध्यक्षता रहेको थियो।उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य नरेन्द्र खड्का, दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाई, झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्र प्रसाद संग्रौलालगायतले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरू, झापा जिल्लाका उद्योगी तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रमुख अतिथि राजेन्द्र राउतले बिर्तामोडलाई ताप्लेजुङ, पाँचथर, इलाम लगायतका पहाडी जिल्लाहरूको प्रमुख व्यापारिक केन्द्रका रूपमा वर्णन गर्दै यहाँको आर्थिक गतिविधिमा बिर्तामोड उद्योग वाणिज्य सङ्घको योगदान सराहनीय रहेको बताए। उनले महासङ्घले सञ्चालन गरिरहेको “व्यवसायिक विकास सेवा (BDS)” कार्यक्रम, महिला उद्यमी विकास समिति मार्फत सञ्चालित ढाका महोत्सव, तथा प्रदेश स्तरीय कृषि एक्स्पो लगायतका पहलहरूको जानकारी दिएका थिए।
उनले कोशी प्रदेश सरकारले निक्षेप तथा कर्जा सुरक्षा कोषसँग हालै गरेको सम्झौताबारे जानकारी दिँदै, बिना धितो सुलभ ब्याजदरमा साना व्यवसायीहरूलाई ऋण सुविधा दिने तयारी भइरहेको उल्लेख गरे। साथै महासङ्घले सबै जिल्ला तथा नगर संघहरूमा सचिवालय सशक्तिकरणका लागि तालिम, अध्ययन भ्रमण तथा व्यवसायिक सेवा प्रणाली मजबुत पार्न सफ्टवेयर जडान जस्ता कार्यक्रमहरू अघि सारेको जानकारी पनि दिए।
अध्यक्ष राउतले स्वदेशी उत्पादन तथा स्थानीय स्रोतसाधनको अधिकतम उपयोगमार्फत रोजगारी सिर्जना, आयात प्रतिस्थापन र स्वदेशी वस्तुको प्रवर्द्धनमा जोड दिनुपर्ने धारणा राख्दै, सरकारी निकायहरूलाई नेपाली उत्पादनको प्रयोगमा प्राथमिकता दिन आग्रह गरे।कोशी प्रदेशको कुल ग्राहस्थ उत्पादन (GDP) मा कृषि क्षेत्रको ३३.२ प्रतिशत, उद्योगको १५.९५ प्रतिशत र सेवा क्षेत्रको ५०.९२ प्रतिशत योगदान रहेको तथ्य प्रस्तुत गर्दै, उनले हालको आर्थिक मन्दीका कारण मागमा करिब ५० प्रतिशतले गिरावट आएको जानकारी गराए।कार्यक्रमको समापनमा प्रमुख अतिथि राउतले बिर्तामोड उद्योग वाणिज्य सङ्घको सातौँ वार्षिक साधारण सभा सफलताका साथ सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै सहभागी सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए।