

इक्युवालिटि कप क्रिकेट २०२५ को उपाधि मोरङला विराटनगर, चैत २२ । चौथो संस्करणको ‘इक्युवालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको उपाधि मोरङले जितेको छ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर–६ स्थित म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा मोरङले सप्तरीलाई ८ विकेटले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।
साविक विजेता मोरङले यस पटक पनि उपाधि रक्षा गर्दै लगातार तेस्रो पटक च्याम्पियन बन्ने गौरव हासिल गरेको हो । पहिलो संस्करणमा झापासँग पराजित भएयता मोरङले तीन संस्करणसम्म उपाधि हात पारेको हो।
फाइनल खेलमा टस हारेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८१ रन बनायो । टोलीकी साक्षी यादवले २८ रनको योगदान दिइन् भने दिपा रामले अविजित १५ रन जोडिन् । मोरङकी क्रितिषा धामीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १ मेडन सहित जम्मा ९ रन खर्चेर ५ विकेट लिइन् । बन्धना राजवंशीले समेत ३ विकेट हात पारिन्।
८२ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको मोरङले ११ दशमलव १ ओभरमा २ विकेट गुमाएर लक्ष्य पार गर्यो । टोलीकी सानु राजवंशीले अविजित ४० रन बनाइन् भने कप्तान टिका साहले १५ रनको योगदान दिइन्। सप्तरीका लागि साक्षी यादव र अपेक्षा यादवले समान १–१ विकेट लिइन्।
प्रतियोगितामा सिरहाकी सरस्वती चौधरी प्लेयर अफ द सिरिज घोषित भइन् । उत्कृष्ट ब्याटर सप्तरीकी साक्षी यादव, उत्कृष्ट बलर मोरङकी क्रितिषा धामी र उत्कृष्ट विकेटकिपर मोरङकी प्रिंसा राना मगर घोषित भए ।
महिलाको क्रिकेटमा सहभागिता बढाउने उद्देश्यसहित म्यारिलिबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथआउट बाउण्ड्रीजको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको हो।
समापन समारोहमा कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे, मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद साद बाबु र नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।