

बिराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागि हुन आज थाइल्याण्ड प्रस्थान गर्दै छन् । कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो । प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन्
यही चैत २२ गते बैंककमा बिमस्टेकको छैटौँ शिखर सम्मेलन शुरु हुँदैछ । प्रधानमन्त्री ओलीबाट थाइल्याण्डका समकक्षी फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो । शताब्दीयौँ पुरानो सभ्यता र सांस्कृतिक सम्बन्ध रहे पनि नेपालका सरकार प्रमुखबाट अहिलेसम्म दक्षिण पूर्वी एसियाली मुलुक थाइल्याण्डको औपचारिक भ्रमण भएको थिएन । सन् १९८३ मा थाइल्याण्डका तत्कालीन प्रधानमन्त्री प्रेम तिनसुलानोन्डाले नेपाल भ्रमण गरेका थिए ।
यही चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको औपचारिक भ्रमण तथा विस्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुने प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमणलाई नेपाल सरकार, मन्त्रिपरिषद्को यही चैत ११ गतेको बैठकले स्वीकृत गरिसकेको छ । मन्त्रिपरिषद्को निर्णय अगावै परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायले भ्रमणको तयारीका कामहरू प्रारम्भ गरेको थियो ।
भ्रमणका विषयमा प्रधानमन्त्री ओलीले संसद्लाई जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकी बाहेकका देशहरूको भ्रमणमा ‘गेट–वे’को रूपमा रहेको बैङ्ककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैँमा महत्त्वपूर्ण हुने बताएका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको थाइल्याण्डका नरेश र समकक्षीसँग भेटवार्ता हुनेछ ।
भ्रमणका अवसरमा पर्यटन र संस्कृतिसँग सम्बोधित दुई समझदारी पत्रमा हस्ताक्षर हुनेछ । यसैगरी दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच छ समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।
यस्तै नेपाल सरकार र थाइल्याण्ड सरकारबीच हस्ताक्षर हुने पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी ‘मेमोरेन्डम अफ अन्डस्ट्यान्डीङ (एमओयु) विटविन द मिनिस्ट्री अफ कल्चर, टुरिजम एन्ड सिभिल एभिएसन अफ द गभर्मेन्ट अफ नेपाल एन्ड द मिनिस्ट्री अफ टुरिज्म एन्ड स्पोर्टस् अफ द किङ्डम अफ थाइल्यान्ड अन टुरिज्म कोपरेसन’ विषयक समझदारी पत्र स्वीकृत भएको छ ।
नेपाल र थाइल्याण्डले संस्कृति, पर्यटन, व्यापार, लगानी, कृषि, मानव संसाधन विकासलगायत साझा हितका विभिन्न क्षेत्रमा निरन्तर विस्तार भइरहेको सहयोगका साथ बहुआयामिक सम्बन्धका क्षेत्रमा काम गर्दै आएका छन् ।
प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनलाई यही चैत २२ गते सम्बोधन गर्नेछन् । यसैगरी प्रधानमन्त्री ओलीले शिखर सम्मेलनका क्रममा भाग लिन आउने सदस्य राष्ट्रका नेताहरूसँग सम्भव भएसम्म साइडलाइन वार्ता गर्नेछन् । छैटौँ शिखर सम्मेलनको आयोज राष्ट्र हुनुका नाताले बिमस्टेक प्रक्रियालाई सफलतापूर्वक सञ्चालन गर्न थाइल्याण्डको नेतृत्वदायी भूमिका रहनेछ भने बिमस्टेक शिखर सम्मेलनको आयोजक राष्ट्रमा नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमण हुनु कूटनीतिक महत्वको विषय रहनेछ ।