

भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय हत्या हुनु र त्यसपछि नेपाली विद्यार्थीमाथि ज्यादती हुनुलाई सरकारले गम्भीर रुपमा लिनुपर्ने अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष अभिमन्यु यादवले बताए । उनले घटनापछि उत्पन्न परिस्थितिलाई समयमै कुटनीतिक पहल लिन नसक्नु नेपाल सरकारको कमजोरी भएको औल्याए ।
यसैगरी मोरङ क्याम्पस स्ववियु सभापति जसवन्त पौडेलले मृतक र त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको पक्षमा नेपाली विद्यार्थीहरुले आवाज बुलन्द बनाउने बताए । उनले रहस्यमय हत्याको न्यायिक छानविन गरेर घटनामा संलग्न देखिएका भारतीय नागरिकलाई हदैसम्मको सजाय हुनुपर्ने माग गरेका छन् ।
अमानवीय घटनाले नेपाली मात्र होइन, भारतका विद्यार्थी, अभिभावक, मानवअधिकारकर्मी, सामाजिक अभियन्ता, तथा सम्पूर्ण न्यायप्रेमी जनतालाई गहिरो रूपमा मर्माहित बनाईरहेको छ । प्रकृति लम्सालको हत्या प्रकरणपछि विश्वविद्यालयका विद्यार्थीहरूले न्यायका लागि दबावमूलक आन्दोलन गर्दा उनीहरूमाथि भएको दुर्व्यवहार र कलेज प्रशासनको गैरजिम्मेवार तथा असंवेदनशील व्यवहार निन्दनीय भएको विद्यार्थीहरुको भनाई छ । कलेजका ती सम्पूर्ण कर्मचारी, जो दोषी छन्, उनीहरूलाई तत्काल हिरासतमा राखेर भारतको कानुनअनुसार कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग समेत विद्यार्थीहरुले गरेका छन् ।
विद्यार्थीहरुले मंगलबार नै जिल्ला प्रशासन कार्यालयमार्फत पराराष्ट्रमन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र भारतीय दुतावासलाई ज्ञापनपत्र बुझाउने भएका छन् ।