

विराटनगर, फागुन ३ – श्री बिराटेश्वर शिवमन्दिर, शनिहाट, विराटनगरको शताब्दी उत्सवको अवसरमा आयोजित निःशुल्क आँखा शिविर सफलता पूर्वक सम्पन्न भएको छ। रामलाल गोल्छा आँखा अस्पताल तथा तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा आयोजित यस शिविरमा २६८ जना बिरामीको आँखा परीक्षण गरिएको थियो, जसमा ५३ जना मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने छ।
शिविरमा आँखासम्बन्धी समस्या भएका बिरामीहरूलाई निःशुल्क औषधि, चश्मा तथा परामर्श सेवा प्रदान गरिएको थियो। आयोजकका अनुसार, मोतियाबिन्दु शल्यक्रियाका लागि छनोट गरिएका बिरामीहरूको अस्पतालसम्म निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ।
समाजसेवामा महत्वपूर्ण योगदान
यस सामाजिक सेवामूलक कार्यलाई सफल बनाउन श्री बिराटेश्वर शिवमन्दिर व्यवस्थापन समिति, स्थानीय स्वयंसेवकहरू, चिकित्सक टोली तथा विभिन्न संघसंस्थाहरूको उल्लेखनीय सहयोग रहेको थियो। शिविरमा विशेषज्ञ डाक्टरहरूको टोलीले सेवा दिएको थियो भने विराटनगर महानगरपालिका वडा नं. २ कार्यालय र RUIT Foundation ले विशेष सहयोग गरेको थियो।
शिविर आयोजक समिति अध्यक्ष देवकीनन्दन अग्रवाल र सचिव शेरसिंह दुगड ले आँखासम्बन्धी समस्याबाट पीडित सर्वसाधारणलाई गुणस्तरीय र सुलभ सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताए।
स्थानीय वासिन्दाको उत्साहजनक सहभागिता
यस शिविरमा विराटनगरका स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको थियो। मधुमेह (Diabetes) भएका बिरामीहरूले प्रत्येक ६ महिनामा अनिवार्य रूपमा आँखाको परीक्षण गराउनुपर्ने जानकारी दिँदै, चिकित्सकहरूले समयमै जाँच गराउन आग्रह गरेका छन्।
श्री बिराटेश्वर शिवमन्दिर व्यवस्थापन समितिका अनुसार, शताब्दी उत्सवको अवसरमा सामाजिक सेवाका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको छ। आयोजकहरूले आगामी दिनमा पनि यस्ता सेवामूलक गतिविधिहरू निरन्तर गर्दै जाने प्रतिबद्धता जनाएका छन्।