पेरिस एआई सम्मेलनको प्रस्तावमा हस्ताक्षर गर्न अमेरिका र बेलायतले गरे अस्वीकार

Logo
Red FM बुधबार, माघ ३०, २०८१

काठमाडौँ —अमेरिका, भारत, युरोपेली संघ, फ्रान्स, चीनलगायत देशका उच्च नेतृत्वको सहभागितामा फ्रान्सको राजधानी पेरिसमा भएको ‘विश्व एआई सम्मेलन’ मंगलबार सम्पन्न भएको छ । दुईदिने सम्मेलनमा ८० देशका सरकारी प्रतिनिधिसँगै एआई क्षेत्रका अग्रणी कम्पनी, डेभलपर, विज्ञलगायत सहभागी थिए । सम्मेलनको प्रस्तावना समेटिएको संयुक्त विज्ञप्तिमा अमेरिका र बेलायतले हस्ताक्षर गर्न अस्वीकार गरे भने युरोपेली संघले एआई नियमनमा अलि उदार हुने संकेत दिएको छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले अध्यक्षता गरेको सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहअध्यक्षका रूपमा उपस्थित थिए । अमेरिकी उपराष्ट्रपति जेडी भान्स, चिनियाँ उपप्रधानमन्त्री झाङ जियोकिङ, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनलगायतले वक्ताका रूपमा सहभागिता जनाएका थिए ।

सम्मेलनमा समावेशी र दिगो एआई विकासको प्रवर्द्धन गर्ने विषयमा तयार गरिएको घोषणापत्रमा अमेरिकी उपराष्ट्रपति भान्स र बेलायतको प्रतिनिधित्व गरेका विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव पिटर कायलले हस्ताक्षर गरेनन् । भान्सले एआई नियमनमा युरोपेली संघ कठोर भएको र यसले नवप्रवर्तनलाई प्रभाव पार्ने अभिव्यक्तिसमेत दिए

फेब्रुअरी १० र ११ मा आयोजित पेरिस एआई सम्मेलनले विश्वका विभिन्न राजनीतिक, व्यावसायिक र प्राविधिक नेतृत्वलाई एकसाथ ल्याएको थियो । एआई नियमनका लागि विश्वव्यापी मापदण्ड स्थापित गर्ने उद्देश्य राखिएको यो सम्मेलनमा एआईको नैतिक, दिगो र समावेशी प्रयोग र विकासको दृष्टिकोणमा जोड दिइएको थियो । सम्मेलनको प्रमुख आकर्षणमध्ये एक युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनको मन्तव्य थियो । उनले युरोपलाई एआईसम्बन्धी नवीनतम विकासमा अग्रसर बनाउनुपर्ने आवश्यकता औंल्याइन् ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356