हिउँ हराएको हिउँद

Logo
Red FM बिहिबार, माघ २४, २०८१

काठमाडौँ । माथि माथि हिमाली भेगमा, हिउँ पर्‍यो फुरुरु, हिउँ पर्‍यो फुरुरु,
प्रदेशी माया सम्झेर, मन रुन्छ धुरुरु, मन रुन्छ धुरुरु,
हा..हा..हा..मन रुन्छ धुरुरु…।
बबिना राई किरातीको स्वरमा सजिएको यो गीत अधिकांश नेपालीहरुको जनजिब्रोमा झुन्डिएको छ । हिउँ पर्नेबित्तिकै ‘टिकटक भिडियो’ बनाउनेहरु यही गीतलाई रोज्छन् ।

हिमाली भेगैमा हिउँ पर्‍यो फुरुरु…राजु लामाको स्वर रहेको अर्को गीतको टुक्का पनि उस्तै कर्णप्रिय छ । यी गीतले हिउँ, हिउँद र नेपालको हिमाली क्षेत्रको महिमा सञ्चार गर्न सघाउँछन् । हुन पनि हिउँदको आगमनसँगै उच्च हिमाली भेग, त्यहाँका पहाड, डाँडाकाँडा बाटो र बोटबिरुवा हिउँका सेतो आवरणले ढाकिएका हुन्थे ।

यस वर्ष पुस सकियो । माघ पनि सकिनै लाग्यो तर हिउँ पर्ने छाँटकाँट देखिएन । यी गीतका टुक्कामा बनेका टिकटक भिडियो आउन छाडे । हिउँ पर्दो हो त अचेल धेरै मान्छे हिउँसँग खेल्थे, अनि हिउँसँगै खेल्दै रमाएका भिडियोहरूबाट अरुले पनि आनन्द लिन्थे !

यसपटक हिउँदमा हिउँ हराएको छ । यी गीतका भावहरु पनि हाम्रा भावी पुस्ताका लागि कतै एकादेशको कथा त बन्ने होइनन् भन्ने चिन्ता थपिएको छ । गत वर्षहरु झैँ यस वर्ष पनि हिउँ खेल्न जाने समय कुरिरहनुभएकका काठमाडौँको लाजिम्पाटका शैलेश पाण्डेलाई पनि यस्तै चिन्ता छ । “मलाई हिउँ खुब मन पर्छ । हिउँ पर्नेबित्तिकै खुब रमाइलो लाग्थ्यो, खेल्न पाइन्छ भनेर”, उहाँ भन्नुहुन्छ, “कहिले चन्द्रगिरि डाँडा, कहिले फुलचोकी, कहिले शिवपुरीको डाँडामा जान्थ्यौँ । ती दिनको खुब याद आउँछ तर यो वर्ष त हिउँ कहिले पर्ला भनेर कुरिरहनु परेको छ ।”

यो वर्ष हिउँ पर्नेबित्तिकै हिउँ खेल्न जाने योजनामा हुनुहुन्छ, भक्तपुर लोकन्थलीका अमित तिमल्सेना पनि । “हामी कलेज पढ्दा त पुस लाग्नासाथ हिउँ पथ्र्यो । साथीभाइ मिलेर हिउँ खेल्न जान्थ्यौँ । बर्सेनि हिउँ खेल्न गइन्थ्यो । यो वर्ष त पर्दै परेन !”

धादिङ घर भई कोटेश्वर बस्दै आनुभएकी कल्पना तामाङलाई पनि हिउँले आकर्षित गर्छ । “हिउँ चाहिँ कसलाई मन नपर्ला र ? हिउँ पर्दा पर्दै त्यससँग खेल्दाको आनन्द बेग्लै तर के गर्नु यस वर्ष त हिउँ देख्नै पाइएन !”, उहाँले दुःअ मनाउ गर्नुभयो ।

माथि उल्लिखित पात्र त केही उदाहरण मात्रै हुन् । उहाँहरू जस्तै धेरै यस वर्ष हिउँ कहिले पर्ला ? भनेर पर्खिरहेका छन् भने उपत्यकाका डाँडाहरु हिउँले डाकेको हेर्न र तिनै हिउँसँग खेलेर आनन्द लिन चाहने धेरै चिन्तित पनि हुनुहुन्छ ।

चन्द्रागिरिको डाँडामा भालेश्वर मन्दिर छ । मन्दिरका मूल पुजारी हुनुहुन्छ, विदुर न्यौपाने । गत वर्षतिर हिउँसँगै रमाएर बनाइएका उहाँका टिकटकहरु खुब ‘भाइरल’ हुन्थे तर यस वर्ष हालसम्म त्यो अवसर आएको छैन । “यसवर्ष हिउँ परे पो देखिनु । खै ! हालसम्म हिउँ पर्ने छनक नै छैन”, उहाँले भन्नुभयो ।

चन्द्रागिरि हिल्स लिमिटेडका बजार प्रवर्द्धक तथा बिक्री प्रमुख प्रभाकर खड्काले हिउँ खेल्न मात्रै दैनिक २० हजारको हराहारीमा पर्यटक चन्द्रागिरि आउने गरेको स्मरण गर्नुभयो । “चन्द्रागिरिमा हिउँ खेल्न आउनेहरुको सङ्ख्या बाक्लो हुन्थ्यो । गत वर्ष केबलकार चढ्नेको भीड त्यस्तै थियो, आठ हजारको हाराहारीमा त हिँडेरै चन्द्रागिरि पुग्नुभयो,” उहाँले थप्नुभयो, “हिउँ खेल्नकै लागि चन्द्रागिरि आउने पर्यटनको सङ्ख्या धेरै हुन्थ्यो तर यस वर्ष त हिउँ नै परेको छैन । प¥यो भने त पर्यटकहरुको सङ्ख्या ह्वात्तै बढ्थ्यो नि !”

उपत्यका नजिकको हिउँ पर्ने सुन्दर क्षेत्र चन्द्रगिरि यो पटक सेताम्मे बन्न पाएकै छैन । हिउँ परेपछि चन्द्रागिरि जाने भन्दै उपत्यकावासीको प्रतीक्षाको समय कति लामो जाने हो अझै अनिश्चित छ । चन्द्रगिरि नगरपालिका प्रमुख घनश्याम गिरी हाल र ५० वर्षअघि हिउँ पर्ने अवस्थामा देखिएको अन्तरले चिन्तत बनाएको बताउनुहुन्छ । “पहिलापहिला त असोजदेखि नै जाडो लाग्थ्यो । हिउँले डाँडा नै सेताम्मे हुन्थे । जतासुकै हिउँ हुन्थ्यो । आजभोलि यही कुरा नयाँ पुस्तालाई भन्यो भने पत्याउँदैनन् । हिउँ नै देख्न नपाइने भइयो । चिसो पनि पहिलाभन्दा हराउँदै गएको छ”, उहाँले भन्नुभयो ।

पहिलापहिला पुस लाग्नेबित्तिकै पर्ने हिउँ अहिले फागुन लागिसक्दा पनि नपर्दा केही वर्षपछि हिउँ नै नपर्ने हो कि भन्ने चिन्ता छ नगरप्रमुख गिरीलाई । “पहिला त बाहिर राखेको पानी नै जम्थ्यो नि ! हामी स्कुल जाँदा खोल्साखोल्सीको पानी जमेर प्लेटजस्तो बन्थ्यो । त्यतिबेला जमेको पानी खेल्दा खुब रमाइलो लाग्थ्यो”, उहाँ स्मरण गर्नुहुन्छ, “रूखका पातहरु हिउँले भरिएर केही देखिँदैनथ्यो । अहिले त यी सब कुरा सपना झैँ लाग्छन् ।”

चन्द्रागिरिमा मात्रै होइन, हिउँले टलक्क टल्कने हिमालहरु पनि नटल्कँदा आश्चर्यचकित बनाउँछ गिरिलाई । उहाँ भन्नुहुन्छ, “अन्नपूर्ण हिमाल बाक्लो हिउँले ढाकेर सेतै देखिन्थ्यो, टलक्क टल्किन्थ्यो । अहिले त कालो देखिन थाल्यो । काठमाडौँमा पुस महिनादेखि हुस्सु लाग्दा वरपरको मानिस पनि देख्न मुस्किल हुन्थ्यो । अचेल पहिलेजस्तो तुसारो पनि लाग्दैन । हुस्सु पनि त्यति देखिँदैन । पहिला धेरै चिसो हुन्थ्यो । अहिले त चिसोको पनि खासै अनुभव हुन छाड्यो ।”

दोलखा जिल्लास्थित कालीञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद सिवाकोटीलाई पनि आजभोलिको हिउँदमा कालीञ्चोक हिउँविहीन बन्दा अनौठो लागेको छ । “पहिला पहिला यस्तो बाक्लो हिउँ पथ्र्यो कि, यहाँ चार महिनासम्म नै हिउँ रहन्थ्यो । कालीञ्चोक सेताम्मे हुन्थ्यो,” उहाँ भन्नुहुन्छ, “पछिल्लो समय हिउँ नै हराउँदै गयो । पछिपछि त यहाँका मानिसले हिउँ नै देख्न नपाउलान् कि भन्ने चिन्ता पो छ !”

यस वर्ष हिउँ नपर्दा आन्तरिक पर्यटकहरु पनि घटेको उहाँले जानकारी दिनुभयो । “पछिल्लो समय हिउँ खेल्नका लागि काठमाडौँदेखि नै मानिसहरु आउँदा लाखको हाराहारीमा पर्यटन हुन्थे । यसपटक त हिउँ नपर्दा आन्तरिक पर्यटन नै कम आए”, अध्यक्ष सिवाकोटीले भन्नुभयो । जलवायु परिवर्तनका कारण हिउँ नपर्ने समस्या मात्रै होइन पछिल्लो समय कालीञ्चोकमा सुन्तलाखेती नै हुन छोडेको उहाँ बताउनुहुन्छ ।

गोदावारी नगरपालिका–३ का वडाध्यक्ष सानुराज घिमिरेले आजभोलि फुलचोकी घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या ज्यादै न्यून रहेको बताउनुभयो । “फुलचोकी पहिला हिउँले सेताम्मे हुन्थ्यो । त्यो हेर्न पनि धेरै मानिस आउँथे । आजभोलि त यहाँ हिउँ नै पर्दैन । हिउँ परे पो पर्यटक आउँथे होलान् । हिउँ नै परेन भने पर्यटन विकासमा समेत असर पर्दो रहेछ ।” घिमिरेले जलवायु परितर्वनका कारण हिउँ पर्न छाडेको र यसले कृषिमा असर गर्ने, पानीको मुहान सुक्ने र पर्यटकीय विकासमा ह्रास आउनेजस्ता समस्या उत्पन्न हुँदै गएका भन्दै जलवायुले स्थानीयस्तरमा पारेका यस्ता समस्याबारे सरकारले अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356