घरभित्र भेटियाे एकै परिवारका पाँच जनाको कंकाल

Logo
Red FM आइतबार, पुष १५, २०८०

भारतकाे कर्नाटकस्थित चित्रदुर्ग जिल्लाको उपनगरीय क्षेत्रमा एक सेवानिवृत्त कार्यकारी इन्जिनियरको घरबाट पाँचवटा कंकाल फेला परेपछि सनसनी मच्चिएको छ । यो घटना बाहिर आएपछि एक्लै बसेको यो परिवारको बारेमा अनेकन चर्चा भइरहेकाे छ । प्रहरीले गरेकाे अनुसन्धानमा परिवारका प्रमुख जगन्नाथ रेड्डी (८५ वर्ष), उनकी श्रीमती प्रेमा (८० वर्ष), छोरी त्रिवेणी (६२ वर्ष) र दुई छोरा कृष्ण (६० वर्ष) र नरेन्द्र (५७ वर्ष) आफन्तसँग दूरी बनाएर बस्ने गरेका पाइएकाे छ ।

उनीहरू मानिसहरूबाट यति टाढा बसेका थिए कि २०१९ को जुन–जुलाईदेखि नै याे घर बन्द थियो, र पनि कसैलाई कुनै किसिमकाे शंका थिएन । तर दुई दिनअघि केही व्यक्तिले घरको मुख्य ढोका खुला देखेपछि यो कुरा बाहिर आएको हो । तीमध्ये केहीले पत्रकारलाई यसबारे जानकारी दिएका थिए । पत्रकारले यसबारे प्रहरीलाई जानकारी गराए । प्रहरीले घटनास्थलमा पुगेर परिवारका पाँचै जनाको कंकाल बरामद गरेको थियो ।

बीबीसी हिन्दीसँगकाे कुराकानीमा चित्रदुर्गका प्रहरी उपरीक्षक धर्मेन्द्र कुमार मीनाले बताएअनुसार जगन्नाथ रेड्डीकाे याे परिवार आश्रम जाने योजनामा थिए । त्यसैले लामो समयसम्म घर बन्द भएको देखेर पनि मानिसहरूले उनीहरू आश्रम गएकाे ठाने र कुनै किसिमकाे शंका गरेनन् ।

यो कुराको पुष्टि एक वकिलले पनि गरेका छन्, जसले कुनै बेला याे परिवारकाे एक मुद्दामा कानुनी सहायता गरेका थिए । तर याे परिवारलाई अन्तिम पटक कहिले भेटिएको थियो भन्नेबारे अहिलेसम्म थाहा भएकाे छैन । रेड्डी परिवार ठूलो घरमा बस्थ्याे । यो घर वरपर केहीमात्रै छिमेकीहरू थिए किनभने यो नयाँ बसोबास गरिएको उपनगरीय क्षेत्र थियो । विगत दुई वर्षमा यहाँ केही घर बनेका छन् । उनको घरबाट नजिकको घर कम्तीमा एक सय फिट टाढा छ । उनको घरको अर्को छेउमा एउटा घर थियो । तर यस परिवारका मानिसहरू पनि रेड्डी परिवारप्रति उदासीन थिए किनभने रेड्डी परिवारका सदस्यहरू आफैँले उनीहरूबाट दूरी राखेका थिए ।

कसैले ढोका ढकढक्याए पनि उनीहरू बाहिर ननिस्केर झ्यालबाट मात्रै कुरा गर्थे । केही वर्षदेखि यस घर वरपरका मानिसहरूले यस क्षेत्रमा दुर्गन्ध आएको गुनासो गरे पनि प्रहरीले खासै चासो दिएकाे थिएन । घर बन्द भएकाले प्रहरी पनि धेरै समय आएन । घरको बाहिरी गेट पनि बन्द थियो । झण्डै दुई महिनाअघि गेट फुटेको र दुई दिनअघि घरको ढोका पनि फुटेको देखेपछि प्रहरीलाई खबर गरिएकाे थियाे ।

प्रहरी अनुसन्धानका क्रममा घरबाट कागजपत्र र विभिन्न अस्पतालको मेडिकल रिपोर्ट फेला परेको छ । यी रिपोर्टहरू बैंगलाेर र अन्य अस्पतालहरूका छन् । निम्हान्स अस्पतालबाट पनि रिपोर्ट आएको थियो, जसमा जगन्नाथ रेड्डीको शरीरमा रगत जमेको उल्लेख छ ।

छोरी स्पन्डिलाइटिसबाट पीडित थिइन् भने कृष्ण मोटोपना र मुटुको रोगबाट पीडित थिए भन्ने पनि रेकर्डले देखाएको छ । कान्छा छाेरा नरेन्द्रको स्वास्थ्यसम्बन्धी समस्याबारे खासै केही पत्ता लागेकाे छैन । मीनाले भनिन्, ‘सरकारी डाक्टरबाट प्रहरीले यी मेडिकल रेकर्डहरू जाँच गरिरहेको छ ।’

एक प्रहरी अधिकारीले बीबीसी हिन्दीलाई दिएकाे जानकारी अनुसार काेठामा एउटा नोट पनि फेला परेको थियो जसमा परिवारले कुनै गम्भीर कदम चाल्न सक्छ भन्ने संकेत गर्छ, यद्यपि त्यसमा मिति र हस्ताक्षर छैन ।

परिवारको कुन सदस्यले यो लेखेको हो भन्ने थाहा हुन नसकेको प्रहरीकाे भनाइ छ । एक आफन्तका अनुसार रेड्डी परिवारका सदस्यहरू बिरामीले समस्यामा परेको हुन सक्छन् । यसका साथै छोरीको बिहे नहुनेमा पनि चिन्ता बढेकाे थियो । नाम नबताउने सर्तमा एक प्रहरी अधिकारीले भने, ‘अहिले भेटिएका प्रमाणबाट यो घरमा पटकपटक तोडफोड भएको हुन सक्छ ।’

प्रहरी घरभित्र पसेपछि आमा छोरीको कंकाल एउटै ओछ्यानमा फेला परेको थियो । एउटै कोठाको भुइँमा बाबु र छोराको कंकाल फेला परेको छ । कान्छो छोराको शव अर्को कोठामा फेला परेको थियो । सबै कंकाल परीक्षणका लागि फरेन्सिक प्रयोगशालामा पठाइएको छ । मीनाले भनिन्, ‘आशा छ दुई साताभित्र अनुसन्धान प्रतिवेदन आउनेछ ।’

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356