

काठमाडौँ — डोनाल्ड ट्रम्पले सत्ता सम्हालेसँगै अमेरिकाले सबै वैदेशिक अनुदान तत्कालका लागि रोकेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हाल कायम वैदेशिक सहायता र नयाँ अनुदान वितरण कार्य स्थगन गर्न मातहत निकायलाई निर्देशन दिएका हुन् । यसबाट विकास सहायतादेखि सैन्य अनुदानसम्म प्रभावित हुने भएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले गत सोमबार वैदेशिक अनुदान पुनर्मूल्यांकनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । आदेशमा वैदेशिक विकास अनुदान ९० दिनका लागि स्थगन गर्ने उल्लेख छ । राष्ट्रपतिको आदेशपछि विदेश मन्त्रालयले मातहतका निकायमा अनुदान रोक्न निर्देशन जारी गरेको हो । ‘प्रस्तावित नयाँ सहायता वा हाल कायम अनुदानको थप विस्तारबारे समीक्षा तथा अनुमोदन नभएसम्म नयाँ अनुदान वा विद्यमान अनुदान विस्तारका लागि कुनै पनि नयाँ कोष बाध्य हुनेछैन,’ मन्त्रालय मातहतका कर्मचारीलाई दिइएको निर्देशनमा भनिएको छ ।