काठमाडौँ — नेपोलीले इटालीको सिरी ए को शीर्ष स्थानमा आफ्नो अग्रतालाई आइतबार चार अंक पुर्याएको छ र यसका लागि उसले भेरोनाविरुद्धको खेल २–० ले जित्यो । इन्टर मिलानले नेपोलीलाई पछ्याइरहेको छ र उसले अर्को खेलमा भेनेजिआलाई १–० ले पराजित गर्यो ।
नेपोलीले एटलान्टाले युडिनेजीसँग खेलेको बराबरीको फाइदा लिएको हो । उसको जितमा लारेन्जो मोन्टिपोले सुरुमा आत्घाती गोल उपहार दिए । त्यसपछि आन्द्रे फ्रायन्क जाम्बोले दोस्रो गोल थपे । इन्टरको जितमा भने माटेओ डारमिनले १६ औं मिनेटमा गरेको गोल नै निर्णायक रह्यो ।
लिग तालिकामा नेपोलीको २० खेलबाट ४७ छ भने इन्टरको ४३ र एटलान्टाको ४२ अंक छ । इन्टरले भने १८ खेल मात्र खेलेको छ । आइतबारको अर्को प्रमुख खेलमा जेनोआले रेलिगेसनबाट बच्न संघर्षरत पार्मालाई १–० ले हरायो ।