जकार्ता । इन्डोनेसियाले सन् २०२४ मा सबैभन्दा तातो वर्ष अनुभव गरेको देशको मौसम एजेन्सीले जनाएको छ ।
इन्डोनेसिया अझै पनि जीवाश्म ईन्धन उर्जामा अत्यधिक निर्भर छ । यसलाई वैज्ञानिकहरूले ग्लोबल वार्मिंगको प्रमुख कारण भनेका छन् ।
देशको मौसम विज्ञान जलवायु विज्ञान तथा जियोफिजिक्स एजेन्सी (बिएमकेजी) ले शुक्रबार आफ्नो वेबसाइटमा सन् २०२४ मा औसत हावाको तापमान २७.५ डिग्री सेल्सियस (८१.५ फरेनहाइट) रहेको जनाएको छ । सन् १९९१ तथा सन् २०२० बीचको तुलनामा लगभग ०.८ डिग्री सेल्सियस बढी रहेको बताएको छ ।
हालसम्म देशभरका ११३ वटा अनुगमन पोष्टबाट तथ्याङ्क प्राप्त भएको छ ।
संयुक्त राष्ट्रसङ्घले सोमबार सन् २०२४ लाई विश्वभरकै सबैभन्दा तातो वर्ष बताएको छ ।
साथै, चीन र भारत दुवैले यो वर्ष आफ्नो दशककै सबैभन्दा तातो वर्ष भएको बताएका छन् ।
इन्डोनेसियामा गत वर्षको अप्रिल चार दशकभन्दा बढी यताकै सबैभन्दा तातो थियो ।