पोखरा — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । मंगलबार न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछानेसहित छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई हिरासतमा राख्न म्याद थप गरेको हो ।
संगठित रुपमा सहकारी ठगी गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा उनीहरू कास्की प्रहरीको हिरासतमा छन् । असोज ६ मा पक्राउ परेका जोशीलाई नवौंपल्ट र कात्तिक २ मा पक्राउ परेका लामिछानेलाई आठौंपल्ट म्याद थप भएको हो । जोशी पक्राउ परेको दिनलाई आधार मानेर सम्पत्ति शुद्धीकरणको कसुरमा ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइने प्रावधानअनुरुप अन्तिमपल्ट ४ दिनको म्याद थपिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय कास्कीलाई बुझाएको छ । मंगलबार सरकारी वकिल र रवि लामिछानेका निजी कानुन व्यवसायीले म्याद थपको पक्ष र विपक्षमा बहस गरेका थिए ।
सहकारी पीडितका तर्फबाट सरकारी वकिलले प्रतिवेदनको विश्लेषण गरेर मुद्दा चल्ने वा नचल्ने, चल्ने भए कस-कसलाई कुन–कुन अभियोगमा मुद्दा चलाउने भन्ने निर्क्यौल गर्न समय लाग्ने तर्क गरेका थिए । लामिछानेका कानुन व्यवसायीले भने प्रहरी अनुसन्धान प्रतिवेदन तयार भइसकेकाले थुनामा राख्न नमिल्ने तर्क गरे ।