काठमाडौँ — स्पेनी ला लिगाको शीर्षमा रहेको बार्सिलोनाले आइतबार घरमै लेगानेसको हातबाट १–० को हार बेहोरेको छ । हारले उपाधि होडमा बार्सिलोनाको चुनौती अझ कमजोर बनेको छ । बार्सिलोनाको १८ खेलबाट ३८ अंक मात्र भएको छ ।
भ्रमणकारी लेगानेसका लागि सर्जियो गोन्जालेजले चौथो मिनेटम हेडबाट गरेको गोल नै निर्णायक रह्यो । पूरा खेल अवधिमा क्याटलान टिमले शृंखलाबद्ध आक्रमण बुने पनि त्यसमध्ये कुनैलाई पनि निर्णायक बनाउन सकेन् ।
सिजनको सुरुमा ह्यान्सी फ्लिकको बार्सिलोनाले उत्कृष्ट सुरुआत लिएपनि अब लिगका पछिल्ला छ खेलमध्ये तीनमा पराजित भएको छ । आइतबारकै अर्को खेलमा एटलेटिको म्याड्रिडले गेटाफेलाई १–० ले हरायो । त्यसमा एलेक्जान्डर सोरिथले निर्णायक गोल गरे ।
एटलेटिको समान ३८ अंकमै दोस्रोमा छ भने रियल म्याड्रिड ३७ अंकमा तेस्रो स्थानमा छ । बार्सिलोनाको तुलनामा दुवै म्याड्रिड क्लबले एक खेल कम खेलेको छ । बार्सिलोनाको हारपछि पेड्रिले आफ्ना सबै साथी खेलाडी निराश रहेको स्विकारे ।
उनले प्रतिक्रिया दिएका छन्, ‘खेलमा हाम्रो प्रदर्शन निकै निराशाजनक रह्यो । हामी सुतिरहेका जस्तै थियो । अब हामीलाई चाँडै उठ्नु छ । आक्रमणमा हामीलाई निर्णायक हुनु नै पर्छ ।’