काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शीर्ष दुई टोलीबीचको प्रतिस्पर्धामा सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ । जनकपुर बोल्ट्सका कप्तान अनिल साहले बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।
जनकपुर पहिलो चार खेल जितेर शतप्रतिशत नतिजाका साथ शीर्ष स्थानमा छ । पहिलो तीन खेल जितेको सुदूरपश्चिम पछिल्लो खेलमा चितवन राइनोजसँग पराजित भए पनि अंक तालिकामा दोस्रो स्थानमा छ । सुदूरपश्चिमसहित चितवन र कर्णाली याक्सको समान ६ अंक छ । नेट रन रेटका आधारमा सुदूरपश्चिम अगाडि छ ।
सुदूरपश्चिमले दिलप्रित बज्वाको स्थानमा हरमित सिंहलाई खेलाएको छ । दुई दिन काठमाडौं आएका देव्रेहाते स्पिन अमेरिकी अलराउन्डर हरमितको एनपीएलमा यो पहिलो खेल हो । जनकपुरले मोहम्मद मोहिसनको स्थानमा जोसुआ ट्रम्प र हेमन्त धामीको स्थानमा अरनिको यादवलाई खेलाएको छ ।
नेपाली राष्ट्रिय टोलीबाट खेल्दै आएका दाजु भाई आसिफ शेख र आरिफ शेख आज विपक्षीका रुपमा आमने सामने हुनेछन् । आसिफ जनकपुरका मार्की खेलाडी हुन् भने आरिफले सुदूरपश्चिमबाट खेलिरहेका छन् ।