सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुर अनुसन्धानका लागि वीरगन्ज ल्याइएका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग मंगलबार चार घण्टामै प्रहरी बयान सकिएको छ । वीरगन्जको सानोपाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनका विषयमा लामिछानेसँग पर्सा सरकारी वकिलको कार्यालयमा बयान लिइएको हो ।
सरकारी वकिल कार्यालयका मुख्य न्यायाधिवक्ता भोलानाथ निरौलाका अनुसार लामिछानेलाई ५४ वटा प्रश्न गरिएको थियो । प्रहरी स्रोतका अनुसार लामिछानेले कतिपय विषय स्वीकार गरेका थिए, तर ती के हुन् भन्ने खुलाइएको छैन ।
बयान सकिएपछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ । सरकारी वकिल कार्यालयमा बयान भइरहँदा रास्वपाका नेता तथा कार्यकर्ताले वीरगन्जमा विरोध प्रदर्शन गरेका थिए ।
सहकारीको रकम हिनामिना प्रकरणमा कात्तिक २ मा पक्राउ परेका लामिछानेलाई कास्कीबाट सोमबार साँझ वीरगन्ज ल्याइएको थियो । पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालका अनुसार कास्की प्रहरी हिरासतमा राख्ने म्याद बुधबार सकिने हुनाले बुधबार बेलैमा पोखरा पुर्याउने तयारी छ । सहकारी ठगीमै कास्की प्रहरी हिरासतमा रहेका छविलाल जोशी र रामबहादुर खनाललाई पर्सामा सोमबार बयान गराएर मंगलबार बिहान स्थलमार्गबाट पोखरा फिर्ता पठाइएको थियो । पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार लामिछाने, जोशी र खनाललाई पक्राउ गर्न पर्सा अदालतले गत बुधबार अनुमति दिएको थियो ।
लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिमा सञ्चालक एवं प्रबन्ध निर्देशक रहेका बेला सानोपाइला सहकारीबाट ८ करोड ५८ लाख रुपैयाँ सारिएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ । उक्त रकम २०७८ वैशाख ५ देखि २०७९ साउन १९ सम्ममा सानोपाइलाबाट गोर्खा मिडियामा सारिएको हो । जोशीको घरबाट बरामद भएको हार्ड डिस्कमा सानोपाइला सहकारीबाट रकम सिधै गोर्खा मिडियामा सारेको फेला परेको थियो । गोर्खा मिडियाका सञ्चालक एवं पूर्वउपाध्यक्ष जोशीका नाममा पनि सानोपाइला सहकारीबाट एक करोड ८६ लाख ९४ हजार रुपैयाँ प्रवाह भएको अनुसन्धानमा देखिएको छ । त्यसबाहेक सानोपाइला सहकारीबाट ९३ करोड ६२ लाख ९७ हजार रुपैयाँ गैरकानुनी रूपले कार्यक्षेत्रबाहिर ऋण प्रवाह गरिएको पाइएको छ ।
प्रहरीका अनुसार सानोपाइला सहकारीका अध्यक्ष अनन्तबाबु राई, सचिव देवेन्द्रबाबु राई, प्रबन्धक असरफ अली सिद्धिकी, संरक्षक गितेन्द्र बाबु (जीबी) राईलगायत ११ जना फरार
छन् । सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीमा पक्राउ परेर पुर्पक्षका लागि कास्की कारागारमा छन् । पक्राउ परेका सहकारीकी पूर्वउपाध्यक्ष नेहा पौडेल र कर्मचारी राधेचन्द्र यादव धरौटीमा रिहा भएका थिए ।