हातभरि ठेला। फाटेको अनुहार। घाउले चिरा चिरा परेका औलाहरु। जुम्लाको चन्दननाथ नगरपालिका-५ कालेखोली नजिकै गिट्टी कुट्दै गर्दा भेटिएकी ४० वर्षीया हिरा कुलालको बाहिरी आवरण हो यो। उनको भित्री कहानी यो भन्दा पनि दर्दनाक छ।
जुम्लाको चन्दननाथ नगरपालिका–१ कुलावाडा गाउँकी हिरा गिट्टी कुटेकै भरमा परिवार पाल्दै आइरहेकी छिन्। उनको पाँच जना छोराछोरी छन्।
करिब एक वर्ष अघि उनले श्रीमान् गुमाइन्। ४३ वर्षका उनका श्रीमान् मुनबहादुर कुलालको अल्पायुमै निधन भयो। पतिको निधनपछि उनी सहित उनका पाँच छोराछोरीको बिचल्ली भयो।
श्रीमानको मृत्युपछि पाँच छोराछोरीको जिम्मेवारी उनकै काँधमा आइपर्यो। त्यसपछि उनका सकसपूर्ण जीवन यात्रा सुरु भए।
श्रीमानको मृत्युपछि छोराछोरी के खुवाउने भन्ने पिरले हिरालाई सताउन थाल्यो। छोराछोरीका लागि बिहान बेलुकाको गाँसको बन्दोबस्त गर्न उनले गिट्टी कुट्ने काम सुरु गरिन्। नागरिकसँगको कुराकानीमा उनले भनिन् ‘गिट्टी नकुटेको दिन त घरमा चुलो पनि जल्दैन।’
उनको तीन छोरी र दुई छोरा छन्। छोराछोरीको इच्छा अनुसारको एक छाक खानासमेत खुवाउन नसक्दाको पिडा सुनाउँदै उनले भनिन् ‘ उनीहरु अरुले जे खायो त्यही खाऊँ भन्छन्, अरूले जे लगायो, त्यही चाहियो भन्छन्, छोराछोरीले इच्छा अनुसार पुर्याउनु त मेरा लागि सपना जस्तै हो।’
श्रीमानको मृत्युपछि ढुंगा बोक्ने र गिट्टी फोर्ने काम सुरु गरेको बताउँदै उनले भनिन् ‘अहोरात्र खटिएर गिट्टी फोर्ने काम सुरु गरे, यत्रो मेहनतेले फोरेको गिट्टी बिक्री नै हुँदैन।’
ढुंगा बोक्ने र गिट्टी फोर्ने कामबाट भएको आमदानीले बिहान बेलुकाको गुजारा चलाउनै मुस्किल हुने गरेको उनले बताइन्। ‘अझ एकल महिलालाई समाजले फरक दृष्टिले हेर्छ। फरक व्यवहार गर्छ। म छोराछोरी पाल्न सङ्घर्ष गरू कि बाँच्नका लागि समाजसँग लडिरहूँ’, उनले भावुक हुँदै भनिन्।
उनले कुटेको गिट्टी प्रति ट्याक्टर ४ हजारदेखि ५ हजार सम्म बिक्री हुने गरेको उनी बताउँछिन्। एक ट्याक्टरमा ९० कटी जान्छन्। एक दिनमा ७ कटी सम्म कुट्न सकिने उनले सुनाइन्।
‘सम्पत्तिको नामका थोरै जग्गा छ, जसले महिना दिन पनि राम्रोसँग खान पुग्दैन। जे जसो भएपनि आफैले पसिना बगाएर बाबुनानीहरुलाई सामुदायिक विद्यालयमा पठाउँछु’, उनले भनिन्।