काठमाडौँ —काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण व्यवस्थापनको जिम्मा सेनालाई दिएको ७ वर्ष भयो । तर अहिलेसम्म ललितपुरको खोकना खण्डमा निर्माणको कामै सुरु हुन सकेको छैन । यस खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भए पनि विवादले गर्दा थप काम अघि बढ्न सकेको छैन । ६.५ किलोमिटर दूरी रहेको खोकना–बुङ्मती खण्डको २ सय ११ रोपनी जग्गा पनि अधिग्रहण हुन सकेको छैन ।
कुल ७०.९७७ किमि दूरीमध्ये अहिले ६४.४७७ किमिमा मात्र ठेक्का व्यवस्थापन भएर काम भइरहेको छ । खोकना इलाकामा विभिन्न प्रकृतिका गुठी र केही व्यक्तिगत जग्गाको कागजात जुटाउन कठिनाइ हुँदा जग्गा अधिग्रहण हुन नसकेको आयोजनाले जनाएको छ । स्थानीयले सबै आयोजना एकै ठाउँमा बनाउन नहुने अडान लिइरहेका छन् । अन्य खण्डमा ठेक्का व्यवस्थापनका सबै काम टुंगिए पनि खोकना खण्डमा निर्माण गर्नेबारे अन्योल रहँदा समयमै काम सक्न समस्या हुने नेपाली सेनाले बताएको छ । खोकनाको विवाद नटुंगिँदा आयोजनाको समग्र प्रगतिमै असर पर्ने सैनिक प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीको भनाइ छ ।
‘यस खण्डमा मुआब्जा दिएर जग्गा अधिग्रहण गर्न बाँकी छ,’ केसीले भने, ‘यस क्षेत्रको जे समस्या हो, त्यसबारे समयमै निर्णय गर्न नसक्दा तोकिएकै मितिमा आयोजना सम्पन्न गर्न गाह्रो हुन्छ ।’ ठेक्का भएको खण्डमा अहिले सुरुङ र पुल निर्माणको काम भइरहेको छ । फास्ट ट्र्याकको सुरु बिन्दु खोकनाबाटै निर्माण गर्न सकिए चोभार सुक्खा बन्दरगाहलाई सजिलो हुने उनको भनाइ छ । अहिलेसम्म समग्र आयोजनाको भौतिक प्रगति ३६.४२ प्रतिशत छ । प्रतिनिधिसभाको विभिन्न संसदीय समितिहरूमा फास्ट ट्र्याक निर्माणमा भइरहेको ढिलाइ र खोकना खण्डको समस्याबारे छलफल भएको र समस्या समाधान गरेर काम अघि बढाउन समितिले सरकारलाई निर्देशन दिए पनि त्यसअनुसार काम हुन सकेको छैन । खोकनाको विवाद छिटो टुंग्याउनुपर्ने कुरा उठिरहेको रक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता मनोजकुमार आचार्यले बताए ।
‘खोकनाको डीपीआर छ, यो ठाउँबाट निर्माण हुन नसके अरू विकल्प खोज्नुपर्छ,’ उनले भने, ‘धेरै आयोजना एकै ठाउँमा भए, जग्गा मासिन्छ, ऐतिहासिक ठाउँ नासिन्छन् भन्ने स्थानीयको बुझाइ छ । त्यसैले खोकनामा यो मात्र आयोजना हो भनेर बुझाउन सकिए समस्या समाधान हुन सक्छ ।’
खोकना क्षेत्रमा मन्त्रालयबाट टोली गएर स्थानीयसँग प्रत्यक्ष बुझ्दै समन्वय गरेर अगाडि बढ्ने तयारी रहेको आचार्यको भनाइ छ ।
खोकना क्षेत्रको समस्या समाधान गर्न लागिरहेको रक्षा मन्त्रालयका सहसचिव ज्ञानप्रसाद ढकालले बताए । ‘तिहारअघि संघ, प्रदेशका सांसद, स्थानीय तहका जनप्रतिनिधि र मन्त्रीहरूको उपस्थितिमा पुल्चोक इन्जिनियरिङका प्राध्यापकहरूले तयार पारेको अध्ययन रिपोर्टबारे छलफल भएको थियो,’ उनले भने, ‘अब खोकनाबाटै निर्माण थाल्ने वा यसको विकल्प खोज्ने भन्ने सम्बन्धमा स्थानीयसँग कुरा गर्छौं ।’ धेरै ढिला नगरी फिल्डमै गएर समाधानको उपाय निकालिने उनको दाबी छ । अहिले फास्ट ट्र्याकमा तीनवटा सुरुङ निर्माणाधीन छन् भने थप तीन सुरुङको निर्माण थालिँदै छ । लेनडाँडा र धेद्रे सुरुङको काठमाडौं तर्फबाट बाहिरिने र आउने दुवै सुरुङको ‘ब्रेक थ्रु’ भएर फिनिसिङको चरणमा छ । महादेवटार सुरुङ खन्ने काम ६५ प्रतिशत सकिसकेको र ०८१ को अन्तिमसम्म ‘ब्रेक थ्रु’ गरिने सहायक रथी केसीले जनाए । ‘काठमाडौंबाट निजगढतर्फ जाने सुरुङ ३३८६ मिटरमा २२८८ मिटर खनिसकिएको छ,’ उनले भने, ‘यसैको निजगढबाट काठमाडौं आउने सुरुङ ३३२२ मिटरमध्ये २०२९ मिटर खनिसकिएको छ ।’