एन्फालाई माथिल्लो डिभिजनको फुटबल लिग नियमित गर्नुपर्छ भन्ने नै लाग्दैन
काठमाडौं —को हुन् यिनीहरू ? कहाँबाट आउँछन् यिनीहरू ? कहींकतै सिनेमामा यस्तो संवाद पक्कै सुनेको हुनुपर्छ धेरैले । नेपाली पुरुष फुटबलकै कुरा गर्दा अहिले यस्तै प्रश्न स्वाभाविक हुन्छ । को हुन् यी फुटबल खेलाडीहरू ? कहाँबाट आउँछन् यी फुटबल खेलाडीहरू ? नत्र नेपालमा नियमित लिग हुन्न । लिग नभएपछि नियमित तलब हुन्न । तलब नै नभएपछि किन फुटबल खेल्छन् त यिनीहरूले ? सौखले ? बानीले ? कि बाध्यताले ?
केही समयअघि भुकुण्डो डटकमले एउटा स्ट्याटस लेखेको थियो, सहिद स्मारक लिग ‘ए’ डिभिजन नभएको ५ सय दिन पुग्यो भनेर । यो सुनेर केहीले आश्चर्य पोखे । कसैलाई धेरै दुःख लाग्यो । कसैलाई लाग्यो, के यस्तो पनि हुनसक्छ र । केहीलाई यो कसैमाथि व्यंग्य गर्ने अवसर बन्यो । सहिद स्मारक लिग ‘ए’ डिभिजनको इतिहास पल्टाउने हो भने यो नै लिग नभएको ५ सय दिन पुगेको पहिलो होइन । न त अन्तिम हुनेछ । किनभने यस्तो बारम्बार भइरहन्छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) लाई माथिल्लो डिभिजनको लिग नियमित गर्नुपर्छ भन्ने नै लाग्दैन । यो पनि न अहिलेको नेतृत्व न त पुरानो नेतृत्वलाई लाग्थ्यो । नेपाली लिगमा अन्तिम पटक माथिल्लो डिभिजनको लिग ०७९/०८० मा भएको थियो । चर्च ब्वाइजले जितेको लिग यही हो । वर्ष ०७९ को फागुन १९ मा सुरु भएको थियो यो लिग । अनि सकिँदा वर्ष ०८० को जेठ २७ पुगेको थियो । त्यो अर्थमा आजको दिनले ठ्याक्कै लिग नभएको ५ सय १८ पुगेको छ ।
यस वर्ष ‘ए’ डिभिजन लिग हुने कुनै पनि छाँट छैन । जति बेलासम्म ‘बी’ डिभिजन हुँदैन, ‘ए’ डिभिजन हुँदैन । अनि ‘बी’ डिभिजन कहिले हुने हो, त्यसको झन कुनै झल्को नै छैन । अबको केही दिनमा नेपालले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै छ, ताजकिस्तान र अफगानिस्तानविरुद्ध । अन्तिम २३ सदस्यीय टिम पनि घोषणा भइसकेको छ । उनीहरू बन्द प्रशिक्षण जस्तैमा छ । ती सबैलाई सोध्नु ठीक हुन्छ, अन्तिम पटक क्लबबाट तलब थापेको कहिले हो र कति हो ?
सहिद स्मारक लिगको इतिहास भने आफैंमा धेरै लामो छ । पहिलो संस्करण पुग्न केही नभए पनि २०११ साल फर्किनुपर्छ । त्यो वर्ष महावीर–११ ले उपाधि जितेको थियो । त्यतिबेला यो प्रतियोगिताको आयोजक थियो नेपाल फुटबल संघ । अब त यसको अस्तित्व पनि रहेन । यो संस्थाले २०३० सालसम्म यसको आयोजना गर्यो । यो भयो १९ वर्षको समय । यसबीच १५ संस्करण । भनेपछि कारण जस्तै होस्, त्योबेलै लिग नियमित हुन छाडेको थियो ।