काठमाडौँ —ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–बंगलादेशबीच जनस्तरमा सम्बन्ध विस्तार हुनुपर्ने बताएका छन् ।
साउथ एसिया विजनेश पार्टनरशीपले शुक्रबार गरेको ‘एशियन बिजनेश पार्टनरसीप समिट तथा अवार्ड वितरण समारोह’ मा उनले नेपाल र बंगलादेशबीच पाँच दशक लामो सम्बन्ध रहिआएको भन्दै अब त्यो जनस्तरमा विस्तार हुनुपर्ने बताए ।
ऊर्जामन्त्री खड्काले नेपाल र बंगलादेशबीच भर्खरै ऊर्जा क्षेत्रमा समेत व्यापारिक सम्बन्ध विस्तार भएको भन्दै खुसी व्यक्त गरे । ‘भर्खरै नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरेर ऊर्जा क्षेत्रमा नेपाल भारत र बंगलादेशबीच त्रिदेशीय सम्बन्ध विस्तार गरेका छौँ,’ मन्त्री खड्काले भने, ‘यो सम्बन्धमा ऊर्जा क्षेत्रमा मात्रै सीमित रहनुहुदैन । जनस्तरमा पनि विस्तार हुनुपर्छ ।’
उनले नेपालको स्रोतको अत्यधिक प्रयोग गरेर बंगलादेशको ऊर्जा आवश्यकतालाई पूरा गर्न लागिएको भन्दै नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न बंगलादेशका व्यवसायीलाई आग्रह समेत गरे । बंगलादेश कृषि क्षेत्रमा आत्मनिर्भर भई विदेशमा समेत बिक्रीवितरण गर्दै आएको भन्दै मन्त्री खड्काले बंगलादेशबाट नेपालले समेत पाठ सिक्न जरुरी रहेको बताए ।
नेपाल र बंगलादेशबीच आवतजावतमा भिसाको समस्या रहेको भन्दै उक्त समस्या समाधानमा सरकारले काम गर्ने उल्लेख गरे । कार्यक्रममा संसद्का अर्थ समितिका सभापति सन्तोष चालिसेले नेपाल र बंगलादेशबीच धार्मिक, सांस्कृतिक, कूटनीतिक सम्बन्ध रहेको भन्दै यसलाई झन प्रगाढ बनाउनुपर्ने बताए ।