सर्लाही —सर्लाहीको बयलबासबाट महोत्तरीको गौशलातर्फ जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई पोखरीमा डुब्दा चालकसहित २ जनाको मृत्यु भएको छ । कारमा सवार एकजना भने पौडिएर बाँच्न सफल भएका छन् ।
मंगलबार बिहान ४ बजे ईश्वरपुर नगरपालिका-२ मियाँखोरस्थित सरस्वती माविको पोखरीमा अनियन्त्रित भई कार डुबेको थियो ।
कार पोखरीमा डुब्दा कार चालक गौशाला नगरपालिका-१० का ३८ वर्षीय सुरेश महतो र महोत्तरीको सोनमा गाउँपालिका-८ का ३७ वर्षीय रामाकान्त ठाकुरको मृत्यु भएको छ । कारमा सवार ३ जनामध्ये महोत्तरीको गौशाला नगरपालिका-२का ३१ वर्षीय जनक यादव सकुशल बाहिर निस्किन सफल भएका छन् ।
पोखरीमा कार डुबेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय केशरगन्ज, भक्तिपुर र सशस्त्र प्रहरी बल सागरनाथ बेससहित सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी बर्दिवासको टोलीले कारसहित शव निकालेको सशस्त्र प्रहरी १० नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।