विचार, संगठन र वर्चस्व मर्दैनन्, ती बदलिरहन्छन् र नयाँ रूपमा देखिन्छन् । मार्क्स, हेगेल, म्याक्स विबर, फुकोहरूले पनि भनेकै हुन् । समकालीन विश्व व्यवस्थामा देखापर्दै गरेका प्रवृत्ति हेर्दा त्यो चित्रित पनि हुन्छ । अमेरिकी नेतृत्वको पुरानो र पश्चिमा विश्व व्यवस्थालाई उदाउँदै गरेको एसियाली विश्व व्यवस्थाले प्रभावित पार्दै छ ।
विश्वमा पहिला युरोपेली वर्चस्व थियो, त्यसपछि अमेरिकी वर्चस्व र अब एसियाली वर्चस्वको समय आएको देखिँदै छ । कुनै शक्ति समाप्त हुँदैन, खाली फरक भूमिकामा देखापर्ने मात्र हुन् ।
एसियाली शक्तिले विश्व प्रभावित पार्ने समय आएको छ । तीन उदाहरण हेरौःं
१८ जुन २०२३ मा शिख पृथकतावादी नेता क्यानडेली नागरिक हरदीप सिंह निज्जारको ब्रिटिस कोलम्बियास्थित शिख मन्दिर परिसरमा हत्या भएपछि बिग्रिएको भारत र क्यानडाबीचको सम्बन्ध अहिले तनावमा बदलिएको छ । परिणामस्वरूप, १५ अक्टोबर २०२४ मा दुवै देशले एकअर्काका राजदूतसहितका कूटनीतिज्ञलाई देश निकाला गरेका छन् । राजदूतलाई देश निकाला गर्ने वा फिर्ता बोलाउने अवस्था द्विपक्षीय सम्बन्धमा सबैभन्दा खराब चरण हो ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले १८ सेप्टेम्बर २०२३ मा क्यानडाली संसद्मै खालिस्तानी आन्दोलनका नेता निज्जारलाई भारतीय सरकारकै एजेन्टको योजनामा मारिएको बयान दिएपछि भारतले त्यसको ठाडो प्रतिकार गरेको थियो । ट्रुडोको संकेत भारतीय खुफिया एजेन्सी ‘रअ’ को संलग्नतातर्फ छ । ट्रुडोका अनुसार क्यानडा सरकारले निज्जारको हत्यामा भारतीय संलग्नताको प्रमाणसहितको प्रतिवेदन अमेरिकालगायत चार देशलाई पनि बुझाएको छ । त्यसको अर्थ अमेरिकासहित ती चार देशले सम्भवतः यो मुद्दामा क्यानडालाई विश्वास गर्नेछन् । वासिङ्टनले ओटावालाई नयाँदिल्लीविरुद्ध यो मुद्दामा प्रत्यक्ष सहयोग गर्छ वा परोक्ष ? त्यसले कस्तो आकार लिन्छ ? त्यो भन्नलाई केही समय पर्खनुपर्छ ।
त्यसो हुँदा, स्वाभाविक रूपमा अमेरिकालगायत ती देशको भारतसँगको सम्बन्धमा पनि संशय पैदा हुनेछ । किनकि कुनै पनि राज्यलाई टुक्र्याउने सोच र त्यस्तो आन्दोलनलाई भारतले मात्र होइन, कुनै पनि सार्वभौम राष्ट्रले सहँदैन । भारतको पञ्जाबलाई स्वतन्त्र खालिस्तानी राज्य बनाउने यो अलगाववादी योजनालाई मोदी सरकारले असफल पार्छ नै । यस्तो आन्दोलनलाई सहयोग गर्ने वा उक्साउने जस्तासुकै र जोसुकै संलग्न भएका प्रयासका विरुद्ध भारतले कुनै मोलाहिजा गर्दैन भन्ने मोदी र जयशंकरको नीति सार्वजनिकनै छ ।