सत्ताबाहिरको माओवादी छटपटी

Logo
Red FM मंगलबार, कार्तिक १३, २०८१

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिन पूरा गर्दा नगर्दै माओवादीका तर्फबाट सरकार परिवर्तनको अपेक्षित हल्ला चलाइएको छ । मुलुकका दुई ठूला दल कांग्रेस र एमाले मिलेर राजनीतिक स्थिरताको मुख्य नारासहित बनेको दुईतिहाइको सरकारलाई अस्थिर बनाउन माओवादीले सुरु गरेको सरकार परिवर्तनको चर्चा स्वयम् माओवादीको अस्थिर मनस्थितिको परिचायक हो ।

प्रतिनिधिसभामा जम्माजम्मी ११ प्रतिशत उपस्थिति हुँदा पनि दुई ठूला दल एमाले र कांग्रेसलाई आपसमा भिडाएर ३२ सिटको जादु धेरै लामो समय नचलेपछि माओवादी नेतृत्व अहिले बेचैन बनेको छ । कहिले विपक्षी दलको मोर्चाका नाममा त कहिले सडक प्रदर्शनका नाममा उसको बेचैनी र अधीरता सार्वजनिक रूपमा प्रकट भइरहेको छ । एमालेसँग आधा–आधा कार्यकालको सहमति भए पनि कांग्रेस–एमाले भिडाउने र पाँचै वर्ष प्रधानमन्त्री रहिरहने पुष्पकमल दाहालको सपना भत्किएपछि अहिले उनी निद्राबाट ब्युँझिएका छन् । चौतर्फी असफलता, नेतृत्वको क्षयीकरण, संगठनको निरन्तर ओरालो यात्रा र आफ्नै सहयात्रीसँग एक्लिएपछि माओवादीले सडक संघर्षको असफल र पुरानो सूत्र घोक्न थालेको छ ।

कांग्रेससँग मिलेर चुनाव लड्ने (०७९ मंसिर ४), एमालेसँग मिलेर सरकार बनाउने (०७९ पुस १०), फेरि कांग्रेससँग मिलेर मुख्य पदको भागबन्डा गर्ने (०७९ फागुन १०) र त्यसको प्रयोजन सकिएपछि फेरि एमालेसँग मिलेर (०८० फागुन २१) सत्तामा रहिरहने ‘सफलता’ पाएको माओवादीले उपयोगितावादको प्रस्ट नीति लिएको थियो– एमालेले पेले कांग्रेस र कांग्रेसले पेले एमालेसँग सहकार्य गर्ने तर सत्ता नछाड्ने । ०८१ असार १७ मा कांग्रेस–एमाले मिल्दा दुई ठूला दल भिडाएर सत्तामा बसिरहन पाइएको सुविधा समाप्त भएपछि अहिले उसमा छटपटी बढेको छ । सत्ता गठबन्धनभित्र फेसो हाल्न सके फेरि सत्ताको च्याँखे थाप्न सकिन्छ भन्नेबाहेक माओवादी नेतृत्वको ध्यान अन्यत्र गएकै छैन । त्यसैको परिणामस्वरूप कुनै मुद्दा र सन्दर्भबिना नै माओवादीले सडक आन्दोलनको दुन्दुभी बनाउन खोजेको छ । राजनीतिक वातावरण धुमिल बनाउने, अस्थिरताको सिर्जना गर्ने, आर्थिक क्रियाकलापमा बाधा पुर्‍याउने र नागरिकको मनोविज्ञानमा नकारात्मक प्रभाव पारी कांग्रेस–एमाले मिल्दा पनि केही गर्न सकेनन् भन्ने भाष्य निर्माण गर्न यतिबेला माओवादीले वितण्डाको बाटो समात्न खोजेको छ ।

नेतृत्वको अस्थिर र अवसरवादी कार्यनीतिले माओवादी पार्टीलाई विश्वास गर्न नसकिने शक्तिका रूपमा उभ्याएको छ । कुनै कारणबिना हिँड्दाहिँड्दै जहाँ पुगेको छ, त्यहीँबाट तत्कालै मोडिन सक्ने पुष्पकमल दाहालबाहेक अर्को नेता नेपालमा छैन । एउटासँग सहकार्य गरिरहेका बेला अर्कासँग हिमचिम बढाउने उनको त्यही कार्यशैली र आफू मात्रै बाठो छु भन्ने मनोविज्ञानले गर्दा मुलुक त राजनीतिक अस्थिरताको सिकार भयो नै, स्वयम् उनको पार्टीलाई त्यसभन्दा बढी घाटा भएको छ । आफूलाई आफैं ‘गतिशील’ भन्न पछि नपर्ने त्यही अस्थिरताकै कारण पुष्पकमल दाहाल सबैबाट एक्लिएका छन् र सत्ताबाट सडकमा पुगेका छन् । नेतृत्वको अपारदर्शी जीवनशैली, अवाञ्छित तत्त्वहरूसँगको साँठगाँठ र अराजनीतिक सम्बन्धहरूले माओवादी पार्टीलाई राष्ट्रिय राजनीतिमा असान्दर्भिक सावित गरिदिएको छ । बन्दुक र पैसाबाहेक अरू सबै भ्रम हुन् भनेर सार्वजनिक रूपमै अभिव्यक्ति दिने नेतृत्व भएपछि त्यस्तो नेतृत्वलाई कार्यकर्ताले आदर्श मान्दा पार्टीको हालत के हुन्छ ? आजको माओवादीलाई हेर्दा हुन्छ ।

माओवादी शान्ति प्रक्रियामा सामेल भएपछि ०६३ सालयताका १८ वर्षमा १५ वटा सरकार बन्दा ११ वटामा माओवादी सामेल भएको थियो । तीन पटक पुष्पकमल दाहाल (०६५, ०७३ र ०७९) र एक पटक बाबुराम भट्टराई (०६८) गरी चार पटक माओवादीले सरकारको नेतृत्व गर्‍यो भने खिलराज रेग्मीको सरकार (०६९) मा दुई जना कर्मचारीलाई मन्त्री पठाएर अप्रत्यक्ष र ६ पटक अरूको नेतृत्वको सरकारमा सहभागिता जनाइसकेको छ । ०६६ मा पुष्पकमल दाहाललाई विस्थापित गरी माधवकुमार नेपालको नेतृत्वमा सरकार बन्दा कथित नागरिक सर्वोच्चताको नारासहित सडकमै बसेको माओवादी ०७० को चुनावबाट आफ्नो धरातलमा ओर्लिएपछि लाजले सुशील कोइरालाको सरकारमा जान सकेन । त्यसबाहेक ०७८ मा विवादका बीचमा केपी शर्मा ओलीको सरकारभन्दा बाहिर बसेको माओवादी यस पटक ०८१ मा उहाँको नेतृत्वमा सरकार बन्दा प्रमुख प्रतिपक्षमा छ । सरकार र प्रतिपक्ष एक सिक्काका दुइटा पाटा हुन् र लोकतन्त्रमा बहुमत हुनेले सरकार बनाउनु स्वाभाविक विषय हो भनेर स्वीकार गर्न नसकेको माओवादीले आफूलाई सत्ताबाट निकाल्नुलाई सत्ता–विप्लव, ‘कू’ वा अपदस्थ गरिएको रूपमा बुझेको छ । शान्ति प्रक्रियामा आएयता निरन्तर जस्तो सत्ताको स्वाद चाखिरहेको माओवादीलाई अहिले मात्र होइन, अबका दिनमा आफ्नो निरन्तर ओरालो लागेको यात्राले कहाँ पुर्‍याउँछ भन्ने कुराले बढी बेचैन बनाएको छ ।

एक्लै चुनाव लड्दा आफ्नो हालत के हुन्छ भन्ने माओवादीले राम्ररी बुझेको छ । ०७४ मा एमालेसँग मिलेर चुनाव लड्दा प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी ०७९ मा कांग्रेसलगायत पाँच दलसँगको सहकार्यमा आधा घटेर १८ सिटमा झर्‍यो । ०८४ को चुनावमा कांग्रेस–एमालेले एक्लाएक्लै लड्ने घोषणा गर्दा त्यसबाट सबभन्दा बढी माओवादी झस्किएको छ । कसै न कसैको बुइँ नचढी चुनाव लड्दा

आफ्नो हालत के हुन्छ भन्ने आँकडा माओवादीसँग नहुने कुरा भएन । किनभने, यदि ०७९ मा कांग्रेसलगायत पाँच दलसँग नमिलेको भए प्रत्यक्षतर्फ माओवादी ५ देखि ९ सिटमा सीमित रहने तथ्यांकले बताउँछन् । किनभने, माओवादीले १ सय ६५ निर्वाचन क्षेत्रमध्ये पार्टीलाई प्राप्त हुने मत अर्थात् समानुपातिकतर्फ जम्मा ९ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरेको छ । त्यसमध्ये पनि जम्मा पाँच निर्वाचन क्षेत्र (गोरखा–२, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा र कालीकोट) बाट मात्र माओवादीले प्रतिनिधिसभामा जितेको छ । उसले समानुपातिकतर्फ बढी मत ल्याएका दुई क्षेत्र (सर्लाही–३ र महोत्तरी–१) मा पनि प्रत्यक्षतर्फ जित्न सकेन र एमालेले जित्यो भने बाँकी दुई निर्वाचन क्षेत्रमध्ये गोरखा–१ मा कांग्रेसले र सर्लाही–१ मा लोकतान्त्रिक समाजवादी पार्टीले जिते । माथिका आँकडाले के बताउँछन् भने माओवादीले एक्लै चुनाव लडेको भए दोहोरो अंकको जित हासिल गर्न सम्भव थिएन । एकातिर उसले आफ्नै जनमतलाई पनि प्रत्यक्षतर्फ जोगाउन सकेको छैन भने अर्कातिर बाँकी जति जितेको छ, ती सबै कांग्रेस र गठबन्धनका अरू साझेदारका कारण मात्र सम्भव भएको छ । यस्तो अवस्थामा माओवादीका लागि वर्तमान त चुनौतीपूर्ण छ नै, भविष्य झन् बढी भयावह देखिएको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356