काठमाडौँ —धौलागिरि प्रथम आरोहणका क्रममा मृत्यु भएका ५ रुसी आरोहीको शव १० दिनपछि काठमाडौंमा ल्याइएको छ । आरोहीहरू अलेक्जान्डर डसीको, ओलेग क्रुग्लोभ, भ्लादिमिर किस्टिकोभ, मिखाइल नोसेन्को र दिमित्री स्पिलेभोईको शव बुधबार हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो ।
शरदकालीन हिमाल आरोहणमा गएका उनीहरू असोज २० को राति ११ बजेबाट सम्पर्कविहीन भएका थिए । हेलिकोप्टरले खोजी गर्ने क्रममा २२ गते उनीहरू मृत भेटिएका थिए । तर मौसमको प्रतिकूलताका कारण शव ल्याउन सकिएको थिएन ।
मौसम अनुकूल देखिएपछि काठमाडौंबाट अल्टिच्युड एयरका क्याप्टेन विवेक खड्का हेलिकोप्टरमा उद्धार विशेषज्ञ लोकेन्द्र धामी, दावा फिन्जो भोटे, लाक्पा भोटे, उद्धारको जिम्मा लिने सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पालाई राखेर मंगलबार अन्नपूर्ण क्षेत्रको छोम्रोङ पुगेका थिए । क्याप्टेन खड्काका अनुसार सबै शव धौलागिरि हिमालको ६ हजार ८ सय मिटर उचाइमा छरिएका थिए । ‘सबै जना एउटै डोरीको सहायताले आरोहण गर्दा लडेको देखिन्छ,’ उनले कान्तिपुरसँग भने ।
हिउँले पुरिएका शवलाई झिकेर एक–एक गरी धौलागिरि हिमालबाट वरै ३ हजार ६ सय मिटर उचाइमा पर्ने इटालियन बेस क्याम्पमा झारिएको थियो । शव ल्याउने क्रममा हेलिकोप्टरले धौलागिरि क्षेत्रमा नौ पटक उडान गरेको थियो । त्यहाँबाट शव खड्काका साथै अल्टिच्युट एयरकै अर्को हेलिकोप्टरबाट क्याप्टेन आनन्द थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झारेका थिए । सबै शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको छ ।
पर्यटन विभागले अक्सिजन अभाव र हिमपातले भन्दा पनि लडेर रुसी आरोहीहरूको मृत्यु भएको प्रारम्भिक अनुमान गरेको छ । ‘यस घटनाको विस्तृत विवरण विभागले त्यहाँ खटाएको सम्पर्क अधिकृतबाट आउन बाँकी नै छ,’ विभागका महानिर्देशक नारायण रेग्मीले भने । उनका अनुसार शवलाई काठमाडौंस्थित रुसी दूतावाससँगको समन्वयमा पठाउने तयारी भइरहेको छ ।
पर्यटन विभागका महानिर्देशक रेग्मीका अनुसार रुसी अल्पाइनिस्ट अलेक्जान्डर डसीको नेतृत्वको १४ सदस्यीय टोलीले गत भदौ १९ मा विभागबाट आरोहण अनुमति लिएको थियो । उनीहरूमध्ये ६ जनाले स्वास्थ्यका कारण धौलागिरि आरोहण रद्द गरेका थिए । दुई जनाले भने सफल आरोहण गरे । बाँकी ६ मध्ये एक जना स्वास्थ्यकै कारण आरोहण त्यागेर फर्किएका थिए । अरू पाँच जना भने सम्पर्कविहीन भएका थिए । उनीहरू संसारभर कहलिएका हाई अल्टिच्युट गाइड तथा आरोही हुन् । उनीहरू नेपाली शेर्पा गाइडको सहायताबिना आरोहणमा गएका थिए ।
सगरमाथासहित ८ हजार मिटर अग्ला विश्वका १४ हिमाल आरोहण गरेका पहिलो दक्षिण एसियाली आरोही मिङ्मा शेर्पाका अनुसार धौलागिरिमा ज्यान गुमाएको रुसी आरोहीको शव निकाल्ने कार्य धेरै चुनौतीपूर्ण थियो । ‘मौसमले पनि धेरैपछि साथ दियो,’ उनले भने, ‘अप्ठ्यारो हिमचुचुरोमा अड्किएका शवलाई निकालेर ल्याइएको छ । यस्तो कार्य हिमाल आरोहणका क्षेत्रमा विरलै हुन्छ ।’ विश्वको सातौं अग्लो हिमाल धौलागिरि आरोहण ज्यादै चुनौतीपूर्णमध्ये एक हो ।