लमजुङ —सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताएका छन् ।
क्व्होलासोथर गाउँपालिका–९ टक्सारमा शनिबार टक्सार बाबा र आमा समूहले संयुक्त रूपमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य,पर्यटन र कृषि क्षेत्रको विकास, रोजगारीका सृजनालाई पहिलो प्राथमिकता दिएको बताए ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरूङले शिक्षा, स्वास्थ्य, यातायातलगायत सुविधा गाउँमा पुगे पनि गाउँका घर खाली हुँदै तथा जमिन बाँझो रहेकामा चिन्ता व्यक्त गरे । गाउँबाट सहर पस्ने र सहरबाटै विदेश जाने प्रवृत्ति रोक्न सरकारले हरसम्भव प्रयत्न गरिरहेको उनले बताए ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा रहँदा आफूले लमजुङ र समग्र गण्डकी प्रदेशको विकासका लागि सक्रियतापूर्वक काम गरेको गुरुङले स्मरण गरे । ‘घरघरमा बिजुली, एक घर, एक धारा’ अभियान सञ्चालन गरेको बताउँदै मन्त्री गुरुङले लमजुङको विकासका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे । साथै उनले जनचाहना अनुरुप काम गर्ने दृढता दोहोर्याए ।
स्थानीयले सडक कालोपत्र गर्ने तथा बिजुलीका नाङ्गा तार ‘इन्सुलेटर’युक्त बनाउन गरेका मागप्रति सञ्चारमन्त्री गुरुङले सकारात्मक जवाफ दिए ।
टक्सार आमा समूहका सदस्य तथा वडासदस्य शासदेवी गुरुङ, टक्सार बाबा समूहका पूर्वअध्यक्ष उमरबहादुर गुरुङलगायत वक्ताले गाउँका समस्याबारे जानकारी गराएका थिए ।